मेरो भक्कानो किलकिले मै दबाएँ, एक पटक छातीमा टाँसेर दुध चुसाउन मन लाग्यो तर हिड्ने बेला…एक मार्मिक (मन भित्रको कथा)

  • प्रकाशित मिति: आइतबार, असोज २२ २०७४
  • तामाकोसी खबर

महिला भएको भए यो कथामा अझै बढी आमाको भावना आउथ्यो होला । तर आज पुरुष आमाको स्थानमा उभिएर यो कथा लेख्न स्फूर्ति दिने एक साथि छिन जो ईजरायल जान्छु भन्ने उनको मुखबाट निस्कदा मैले प्वाक्कै भन्दिएको थिएँ कतिओटा बच्चा जन्माइदिएर आउने हो र ? झम्टिएर आइलागिन मात्रै सायद मिल्ने भए हातै पो हाल्थिन की ?

म जब आफ्नो सपना बोकेर इजरायल आइपुगेँ, लाग्या थ्यो बडो इमान्दारसाथ काम गर्नेछु । सोचे भन्दा बढी आम्दानी गर्नेछु मैले छोडेर आएका दुई मेरा मुटुका टुक्राहरुको उज्वल भविष्य बनाउछु । तर सोचे जस्तो काहाँ हुदोरहेछ र ? यो परदेशमा मेरो को नै थियो र ? मेरो भावना, मन, ईच्छा, चाहाना बुझिदिने मेरो रोदन बुझिदिने । जीन्दगी पल पल ज्यूँदो लास हुँदै गयो । फर्किउ दुई पैसा छैन साथमा नफर्किऊँ म कसैको इच्छाअनुसार २ सन्तान जन्माइदिन पर्ने थियो र त्यस बापत पाउने पैसा लिएर फर्किनु पर्ने । पैसा दुइ सन्तान जन्माइ दिदा नेपाली साठीलाख रुपैँया बराबार आउने रहेछ । मेरो बिकल्प अरु कुनै नभए पछि स्विकार्न बाध्य भएँ । दुई वर्षमा मैले २ सन्तान जन्माइदिने पक्का गरेँ । साहुको ऋण, दुई टुक्रा मुटु छोडेर हिँडेँको थिए उनीहरुको अनुहार सम्झदै जति कष्ट भए पनि अगि बढेँ ।



यसरी सन २०१३ बाट १४ को अन्तिमसम्ममा आफ्नो जिम्मा पुरा गरेँ आखिर विदेशीको सन्तानको जन्म दिए पनि मेरो पनि उत्तिकै हक थियो त्यो सन्तानमा तर के गरुँ म बाध्य थिए त्यहाँ मैले कुनै मायाँ देखाइन । बसुन्जेल मलाई कुनै पनि कुराको कमि चाँही हुन दिएनन् त्यहाँ । राम्रो स्वास्थ्यको जाँच तथा खानपानका लागि व्यवस्था थियो ।

तर हरेक पल आफ्नो कामको बारेमा परिवारमा ढाँट्दै गए यसको विकल्प के नै थियो र म संग बारम्बार राम्रो काम छ, राम्रो आम्दानी हुन्छ म ३ वर्ष पुरा नहुँदै आउछु । आमाको नाममा पैसा प्राय ३ महिनामा पठाइरहेँ । नेपालमा परिवार खुसी थियो । थिएन त म मेरो उपस्थिति ति कलिला मेरा छोरिहरुलाई मेरो मायाँको काख थिएन । सायद मेरो पतिको बाइक दुर्घटनामा नपरेको भए मेरो यो अवस्था आउने थिएन । उहाँको दुर्घटनाले हाम्रो चल अचल सम्पत्ति रित्तियो । करिब २ महिना आइ. सि. यूमा राखेको उपचारको खर्चले खेत, घडेरी, घर र कमाएको जे थियो सबै सिद्धिएको थियो ।
मेरो स्वस्थ्य रिकभर हुनासाथ नेपाल हिँडे । आउनासाथ छोरीहरुको अनुहारमा आफूलाई खोजेँ जति म उनीहरुलाई छोडदा आफूलाई पाउथे जत्ति गरे पनि त्यती पाउन सकिँन । शहरमा एउटा घर किन्न सफल भए आडाइ तलाको कम्पाउण्ड सहितको अरुले भन्छन राम्रो प्रगति गरिछ । छोरीहरुलाई राम्रो निजि विद्यालयमा पढाइरहेको छु राम्रो पढदै छन् । आफू एउटा फेन्सी पसल खोलेर जीवन गुजाराका लागि दैनिकी गर्दैछु । जती विर्षन खोजे पनि भुल्न नसकिने पल पल आफैले आफैलाई ढाँटे जस्तो ग्लानी भैरहन्छ मलाई । अहिले नेपालमा आफ्नो स्थितिमा अरुका अगाडि ज्यादै राम्रो सुधार भएको देखे पनि यो मन भित्रको पिडा कसलाई थाहा छ र कि मलाई थाहा छ अनि छ भने भगवानलाई थाहा होला ।

भन्न नसकेको मन भित्रको कथा लेख्दा मन हलुका बनाउदै छु आज यो पिडा पोख्दा खेरी हरेक अवस्था आँखामा तस्बिर झै आइरहेछ आखामा आँशु आएको छ यही आसुले सबै दुःख विर्साइदिने भए आइज आशु अझै आइज । घर छोडेर म विदेश हिड्दाको क्षण सम्झन्छु छोरीलाई दुध चुसाउनु मन लाग्यो तर ब्यूझेर रून्छे कि भनेर छोडे र विदेश हिडेँ…… । मेरो नारकीय जीवनको उत्कर्षको समय थियो त्यो सायद दशैंको बेला थियो । मन भरी पीडा र दुखले भरिएका भावनाहरु खेलिरहेका मात्र थिए । अनगिन्ति पिडाहरुको बाबजुत मन भित्र आशाको एउटा सानो किरण भर्खरै उदाउन लागेको हो कि जस्तो गरि झुल्कने चेस्टा गर्दै थियो । एउटा दुःखी जीवन बाँचिरहेको मान्छेको मनमा आशाको किरण पलाउनु निकै महत्वपुर्ण कुरा थियो मेरो लागि ।
सामाजिक, नैतिक समस्याहरुमा जेलिएर एउटा मनोबैज्ञानिक भुमरीमा फसेको मान्छेले आफ्नो अवस्था सजिलै थाहा पाउन नसकिने रहेछ । आफ्नो वास्तविकता के हो र आफुले मेहनत गरेरै आफ्नो जिन्दगीको अवस्था परिवर्तन गर्न सक्छु भन्ने कुरा मैले महसुस गर्दा समय निकै घर्किसकेको थियो । लगातार भोगिरहेको भौतिक क्षति र आर्थिक समस्याकै कारण आफुले नपाउनुपर्ने दुख पाइरहेको कुरा मैले बुझ्ने समय आउदा मलाइ आफुले धेरै ढिलो कुरा बुझेकोमा आत्मा ग्लानि सुरु भैसकेको थियो । फेरी पनि म मेरा दुखको निराकरणको खोजीमा र मेरा साना साना नाबालक छोरीहरुको भविष्यको चिन्ताले मलाई देश छोडेर बिदेश पलायन हुन बाध्य बनाउदै थियो । म बैदेशिक रोजगारीको बाटो खोज्दै केही महिना पहिले एजेन्सीको सहयोग बाट इजरायल जानको लागि तयारी गरेकी थिएँ । दशैको समय थियो । मेरी ठुली छोरी पाँच बर्षकी र सानी छोरी तिन बर्षको हुँदै थिए । मन भरी पीडाले एक छत्र रजाईं गरेको भए पनि अर्को बर्ष छोरीहरुसंग दशै मनाउन पाउदिन होला भन्दै उनीहरुको साथमा रम्ने कोसिस गर्दै थिए ।
एजेन्सी मार्फत मलाई ईजरायलको भिषा निस्किन सबै प्रकृया तयारी अबस्थामा रहेको हुदा मलाई पनि तयारी अबस्थामा रहनको लागी जानकारी गराएका थिए । त्यति बेला दशै र तिहार छोरीहरुसंग मनाए । तिहार सकियो । तिहारको लगत्तै मेरो भिषा पनि आएको खबर पाए । मेरो छोरीहरुसंगको दशैंको खुशी अचनाक शोकमा बद्लियो । एकातिर आफुलाई अथाह दुखको भुमरीबाट पार लगाउने एकमात्र बिकल्प को ढोका खुलेको छ अर्को तिर कल्कलाउदा दुधे सन्तानलाइ चटक्कै छोडेर हिड्नु पर्ने अवस्था आइपर्यो । मैले मन भरी अथाह पीडा महसुस गरें । छोरीहरु सानै छन् । अहिले सम्म राम्ररी आवाज निस्केको समेत छैन । म जतिसुकै पिडामा हुदा पनि अथवा जस्तो सुकै सास्ती भोग्न परेको अवस्थामा पनि मेरी छोरी हरुलाई मेरो काखबाट टाढा गरेकी थिइन । जस्तो सुकै पीडा र समस्यामा समेत टाढा नगरेका आफ्ना मुटुका टुक्रा लाइ बर्षौंको लागि छोडेर टाढा हुने मेरो दिन नजिकिदै थियो ।
म ईजरायल जाने दिन नजिकिदै थियो । तिहारको पाँच दिन पछि गाउँ हुँदै सदरमुकाम र तेस पछि काठमाडौको यात्रा तय गर्ने तयारी गर्दै थिएँ, बेलुका सामान्य लुगाहरु मिलाए । सधैं जसो आज पनि छोरीहरुसंगै सुत्ने प्रयास गरे । निद्रा हराएको थियो । सानो छोरी मेरो छात्ति तिर छामछुम पार्दै थिइन । ती कोमल हात हरुले आफ्नो अन्तिम घुट्को खाना खोज्दै थिई सायद । उसलाई के थाहा भोलि देखि यो छातीको न्यानो देखि बिमुख हुदैछु भनेर । ती निर्दोष ओठहरुले मेरो स्तान सुस्तरी चुस्दै थिई ! मेरो मन भरिएर ब्याकुल बनेको थियो । आँखा बाट अश्रु धारा बगेको थियो । ठूलो छोरी मेरो कपडा समातेर गहिरो निद्रामा थिई ।
म सानो छोरीलाई निदाउने बनाउने प्रयत्नमा थिएँ । मेरो निद्राको सुदुर क्षितिजसम्म कुनै नामोनिसान थिएन । थियो त केवल हृदय बिष्फोट होला जस्तो भक्कानो बाँकी थियो जुन भक्कानो लाइ फोडेर म छोरी हरुको निद्रा खल्बल्याउन चाहिरहेको थिइन । जवर्जस्ती रोकिएको रुवाई र पहिरोले थुनिएका नदि उस्तै हुन । जतिबेला पनि फुट्न सक्दा रहेछन मैले निरन्तर प्रयास गर्दै थिए कतै नपोखिउन यी पिडाका भावनाहरु बिछोडका तडपाइहरु ! मिर्मिरे उज्यालो हुन थाल्यो ! भालेले डाक छोड्ने बेला हुन लाग्यो । भालेको डाको संगै मेरो रुवाई पनि नाफुत्कियोस भनेर मैले दाँतले कपडालाई दह्रो संग च्यापें । बिस्तारै चराचुरुङ्गी कराउन थाले ! छोरी परदेशिने पीडाले बुवा आमा पनि मर्माहत हुनुहुन्थ्यो सायद त्यसैले वहाँहरु पनि रात भरि सुत्न सक्नुभएको थिएन ।
भालेको डाक संगै आमाले सुस्तरी मलाई उठेर तयार होउ अहिले छोरीहरु उठछन भन्नू भयो । छोरी हरु नउठ्दै मैले घर छोडीसक्नु पर्ने थियो । म हिड्ने बेलामा नानीहरु रोलान र त्यो रुवाइले मलाई बिचलित बनाउला भनेर आमाले मलाई नानीहरु नउठ्दै साइत गर्न सुझाउनु भएको थियो । मैले मेरो भक्कानो किलकिले मै दबाएँ । नराम्रोसंग पोले जस्तो भयो र नाक पुत्तायो र आँखा बाट फेरी एक तहरो झरी बर्षीयो । म उठेर तयार भएं । तयार त के हुनु थियो र लिएर हिड्ने झिटी गुन्टा तयार नै थियो । खाली काखमा रहेका छोरी हरुलाई भुइमा राख्नु बिसाउनु बाकी थियो । मैले त्यो पनि गरें र उठेर हिड्न तयार भएँ ।
सानी छोरी मस्त निद्रामा थिई – उठेर हेरें सपनामै दुध चुस्दै छ उ । दुइटा ओठ अगाडी ल्याएर जोडले च्याप्दै खिच्दै गरेकी छ सायद सपनामा दुध खाएको देखेकी होलि । मेरो छाती रसायो, मलाई एक पटक उसलाई छातीमा टाँसेर दुध चुसाउन मन लाग्यो तर हिड्ने बेला ब्युझेर रुन सुरु गरि भने उसलाई फुल्याउन धेरै समय लाग्छ । परिस्थितिको अगाडी मैले मेरो मातृ वात्सल्यताले हारेको टुलुटुलु हेरिरहें । जब मेरो घर छोड्ने बेला हुँदै थियो ठुली छोरीलाई निद्राले छोड्यो उ ब्युझेर उठी । प्राय मैले ओछ्यान छोड्दासंगै बिउझिने बानि छ उसको । सायद काखको न्यानोमा निदाउने बानि ले हो कि । म उठे पछी मेरै लुगाको फेर समातेर पछी लागि रहन्छे । उसले अचानकै सोध्न थाली ममि हजुर कहाँ जान लाग्नु भएको भनेर । अहिले बैनी उठ्छे र रुन्छे त्यसैले उसलाई पनि संगै लिएर जाम भन्न थालि । उसलाई अहिले सम्म पनि आफ्नी आमा एक्लै कतै सुदुर परदेशमा आफ्नो सुनौलो भविष्य खोज्न जान लागेकी हो भन्ने पत्तो समेत थिएन । बरा निर्दोष मेरी छोरी आफु पनि आमा संगै जान लागेको आभाषले रमाउन थालि र संगै बहिनि लाई पनि लिएर जान आग्रह गर्न थालि । मामु सानु बैनीलाइ पनि संगै लिएर जाम न हस्….. मेरो छात्ती कती चिरा भयो मात्रै आंशु तप तप झर्दै गयो ।
उस्ले यति शब्द मात्र खसाल्न के लागेकी थिई लामो समय देखि मैले हिम नदि झैं बनाएर जवर्जस्ती रोकेर राखेका मेरा आशुले मेरो धैर्यताको बाध फोड्दै झर्न थाले ! पिडा र ब्यथाहरु चित्कारिदै निस्किन थाले । ठुलो नानु लाई बिस रुपैयाँ हातमा थमाउदै मैले उसको लागि हेलिकप्टर र बैनीको लागि गाडी लिन जान लागेको भनेर बैनिको ख्याल गर्नु भनेर सिकाएँ । आज्ञाकारी मेरी छोरीले आफु सफा भएर बस्ने र कसैलाई दुख नदिने अनि बैनीको ख्याल गर्ने भन्दै निर्दोष वाचाहरु गर्न थाली । कति ज्ञानी मेरी छोरी भन्न मात्रै लागेकी के थिएं नानू पनि सङै रुन पो थालि । मेरो छातीमा अचानक ठुलो जाँतोले थिचे जस्तो भयो । भक्कानिएर रोएर आफैलाई रित्याउँन पनि नमिल्ने के गरूँ ‘दुई टुक्रा आफ्नो प्राण आमाको जिम्मा लगाउदै फुट्न लागेको छाती लिएर म आफ्नो र छोरीहरुको सुनौलो भविष्यको लागि सुदुर परदेशको यात्राको लागि घर बाट बिदा भएँ ।
कति रहरले बेचिन्छन कती म जस्ता बाध्यताले आफूलाई आफैँले बेच्नु पनि पर्दौ रहेछ । जीवनको भोगाइहरु धेरै हुन्छन भन्छन जीवन बाटो हो निरन्तर अगाडी बढीरहन्छ कसलाई के थाहा गन्तब्य कहाँ होला बगी जाने नदिजस्तै जीन्दगी । धेरै मोडहरु मध्ये सायद ईजरायलमा म परिवारको खातिर जानु एक मोड थियो जिन्दगीको बाँकी जीन्दगीलाई परिवारको साथ दिएको छु । थाहा छैन यो जीन्दगीको गन्तब्य के हो भनेर । तर पनि निरन्तर चलिरहन्छ चलिरहन्छ यसैगरी ।
                                                                                                                                                –गोकुल भुजेल