काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरिएको छ।
अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले मंगलबार सूचना जारी गर्दै नेप्सेको सीईओ पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। समितिका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदन साउन २६ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा दर्ता गराउनुपर्नेछ। आवेदनसँगै उम्मेदवारले तोकिएको शैक्षिक योग्यता, कार्यअनुभव तथा आवश्यक अन्य कागजात पेश गर्नुपर्नेछ।
प्राप्त आवेदनमाथि अध्ययन तथा योग्यता मूल्यांकन गरेपछि सिफारिस समितिले उम्मेदवारहरूको अन्तर्वार्ता लिनेछ। त्यसपछि उपयुक्त उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गरिनेछ। समितिको सिफारिसका आधारमा सरकारले नेप्सेको नयाँ सीईओ नियुक्त गर्नेछ।
नेपालको पूँजी बजार सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेप्सेको नेतृत्व चयनलाई लगानीकर्ता तथा वित्तीय क्षेत्रले चासोका साथ हेरेका छन्।