मनोज स्मृति कप महिला भलिबलः रामेछापसहित चार टोली सेमिफाइनलमा

  • प्रकाशित मिति: बिहिबार, पुष १० २०८२
  • तामाकोशी

धादिङ । धादिङबेसीमा बुधबारदेखि जारी बागमती प्रदेश स्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

बिहीबार सम्पन्न क्वार्टरफाइनल खेलमा रसुवालाई पराजित गर्दै रामेछाप सेमिफाइनलमा प्रवेश गरेको हो। यसैगरी चितवनलाई हराउँदै धादिङ ‘ए’, सिन्धुलीलाई पराजित गर्दै सिन्धुपाल्चोक र धादिङ ‘बी’ लाई हराउँदै नुवाकोटले सेमिफाइनल यात्रा सुनिश्चित गरेका छन्।
शुक्रबार हुने सेमिफाइनल चरणका खेलहरूमा दिउँसो १ बजे धादिङ ‘ए’ र रामेछापबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे सिन्धुपाल्चोक र नुवाकोट आमनेसामने हुनेछन्।



आठ जिल्लाका ९ टोली सहभागी रहेको प्रतियोगितामा विजेता टोलीले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै, स्पाइकर, सेटर, डिफेन्स, सर्वर, बेस्ट प्लेयरलगायत ६ विधामा उत्कृष्ट खेलाडीलाई व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिनेछ। प्रतियोगिताले जिल्लास्तरका महिला खेलाडीको प्रतिभा उजागर गर्दै भलिबलप्रतिको आकर्षण बढाएको आयोजकको भनाइ छ।