तेस्रो रामेछाप कप फुटबलको उपाधि आयोजक दीपशिखा ब्जाइजलाई

  • प्रकाशित मिति: बिहिबार, कार्तिक ८ २०८१
  • तामाकोशी

रामेछाप । तेस्रो रामेछाप कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८१ को उपाधि आयोजक दीपशिखा ब्जाइज युनाइटेड क्लब मन्थलीले जितेको छ ।  बिहीबार भएको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय रामेछापलाई २–० गोलले हराउँदै आयोजक दीपशिखा ब्जाइज युनाइटेडले उपाधि जितेको हो।

उपाधिसँगै दीपशिखा ब्जाइज युनाइटेडले ३ लाख रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता जिल्ला प्रहरी कार्यालय रामेछापले २ लाख रुपैयाँमा चित्त बुझाउनुपर्‍यो। फाइनल खेलमा पहिलो हाफको १३ औँ मिनेटमा नै दीपशिखा ब्जाइज युनाइटेडले फ्री–किक मार्फत गोल गरेपछि अग्रता लिएको थियो ।



त्यसपछिको खेलमा  पनि दीपशिखा ब्जाइज युनाइटेडले अर्को एक गोल थप्यो । यस अघिका खेलहरूमा राम्रो प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले फाइनलमा भने एक गोल पनि गर्न सकेन । यही कात्तिक ५ गतेदेखि सुरु भएको तेस्रो रामेछाप कप खुल्ला पुरुष फुटबल प्रतियोगिता मन्थली नगरपालिकाको मुख्य प्रयोजनमा दीपशिखा ब्जाइज युनाइटेड क्लबले मन्थलीमा आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ९ टिमले सहभागिता जनाएको आयोजक दीपशिखा ब्जाइज युनाइटेड क्लबले जनाएको छ ।