युरोकपमा आजः बेल्जियमसामु पोर्चुगलको अग्निपरीक्षा

  • प्रकाशित मिति: आइतबार, असार १३ २०७८
  • तामाकोशी

एजेन्सी । फिफाको शीर्ष वरियता र स्वर्णिम पुस्ताको रुपमा चिनिने बेल्जियमले आइतबार प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगल र लयमा रहेको क्रिस्टियानो रोनाल्डोको सामना गर्दैछ ।

आइतबार रातिको बेल्जियम र पोर्चुगलबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने पक्का छ । बेल्जियम र पोर्चुगलबीचको खेल स्पेनको सेभियामा नेपालीसमयअनुसार राति १२ः४५ बजे हुनेछ । विश्व वरियताको शीर्षस्थानमा रहेको बेल्जियम साविक विजेता पोर्चुगलको चुनौती पन्छाउँदै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । पोर्चुगललाई हराउन बेल्जियमलाई त्यति सहज हुनेछैन ।



पछिल्लो पाँच खेलको नतिजाले पनि प्रस्ट पार्दछ । पछिल्लो पाँच खेलमा बेल्जियमले पोर्चुगललाई हराउन सकेको छैन । जसमा दुई बराबरी र तीन हारको नतिजा छ । पछिल्लोपटक यि दुई टोलीले सन् २०१८ मा मैत्रीपुर्ण खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

बेल्जियमका लागि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको लय टाउको दुखाई बन्न सक्छ । पोर्चुगलले समूह चरणमा ७ गोल गर्दा ५ गोल उनकै नाममा छ । बेल्जियम रोनाल्डो र पोर्चुगलको लयलाई रोक्दै पछिल्लो पाँच खेलमा नपाएको जित निकाल्ने लक्ष्यमा हुनेछ । केभिन डि ब्रुएनको आगमनले बेल्जियम झन बलियो देखिएको छ ।

आक्रमणमा रोमेलु लुकाकु रहँदा कप्तान इडेन हाजार्ड, जेरेमी डोकु, ड्रिएस मेर्टिन्स, युरी टिलेमान्स, थोर्गन हाजार्ड, यान्निक कारास्को, एक्सेल विस्टेल, थोमस म्युनिएर र गोलक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ । यसबाहेक थोमस भर्मालेन, टोवी एल्डरवेइरेल्ड र क्रिस्टियन बेन्टेके पनि टोलीमा रहेका छन् ।

बेल्जियमले समूह ‘बी’ शतप्रतिशत जित निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो । यसक्रममा बेल्जियमले रसियालाई ३–०, डेनमार्कलाई २–१ ले तथा फिनल्यान्डलाई २–० ले पराजित गरेको थियो । बेल्जियमको ७ मध्ये ३ गोल लुकाकुले गरेका छन् । यता, ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढेको पोर्चुगल बलियो बेल्जियमको चुनौती पन्छाउने लक्ष्यमा मैदान उत्रने छ ।

बेल्जियमसँग पछिल्लो पाँच खेलमा अपराजित रहेको पोर्चुगल सोही अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । बेल्जियमविरुद्ध रोनाल्डो नै केन्द्रविन्दुमा रहनेछ । इरानका अली दाईको १०९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमानलाई फ्रान्सविरुद्धको खेलमा २ गोल गर्दै भेट्टाएका रोनाल्डोले बेल्जियमविरुद्ध एक गोल गर्न सके सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नेछन् ।