युरोकप नकआउट चरणमा आज वेल्स र डेनमार्क, इटली र अष्ट्रिया भिड्दै

  • प्रकाशित मिति: शनिबार, असार १२ २०७८
  • तामाकोशी

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ। नकआउट चरण अन्तर्गतको खेलमा पहिलो दिन आज दुई खेल हुँदैछ। आज वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटली र अष्ट्रिया आमनेसामने हुनेछन्।

वेल्स र डेनमार्कबीचको खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा राती पौने १० बजे सुरु हुनेछ। दुबै टिम आजको खेलमा जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनाका साथ मैदान उत्रनेछन्। वेल्स समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।



आजै हुने दोस्रो खेलमा राति पौने १ बजे इटली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ। इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेलमा दुबै टिम जित निकाल्दै अन्तिम आठमा आफुलाई सुरक्षित गर्न चाहान्छन्।

समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको इटलीले समूह चरणको ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंकका साथ नकआउट चरणमा प्रवेश गरेको थियो। इटली विरुद्ध मैदान उत्रन लागेको अष्ट्रिया समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो।