लकडाउनको लभ

  • प्रकाशित मिति: बुधबार, बैशाख १७ २०७७
  • तामाकोशी

@लेखक नवराज श्रेष्ठ,
मेरो छिमेकी श्रवण कुमारलाई हिजो आज निकै खुशी देख्छु । छिमेकी श्रवण कुमार मात्रै हैन उनकी श्रीमती, उनकी छोरा, छोरी सपरिवार खुशी देख्छु । हिजो अस्ती सुनसान हुने उनको फ्लाइट हिजो आज सधै रमाइलो र उज्यालो देख्छु । हिजो अस्ती महिना, हप्ता र पन्ध्र दिनमा ठाक्क ठुक्क परिरहने श्रवण कुमारको परिवारमा विगत एक महिनादेखी यस्तो सुनिएको छैन ।
सधै श्रवण कुमारको परिवारमा हुने झगडा अनी बालबच्चाको कोलाहालले दिक्क बन्ने म हिजो आज निकै शान्त संग बसेको छु । हिजो अस्ती यो परिवारमा आउने शान्ति र शान्त वातावरणका बारेमा सोच्ने म आज एक्कासी आएको परिवर्तनले छक्क परेको छु । हुन त सहर बजारमा धेरै ठाउँका मानिसहरु आफ्नो भविष्यको खोजी गर्न धेरै ठुला सपना बोकेर भित्रिएका हुन्छन् । धेरै दुःख गर्छन जीवनसंग सकुन्जेल सम्म लड्छन् । कतिका सपना पुरा पनि भएका छन् भने कतिकोे यहि सहर र यहाको रहन सनहनले घरबार विगारेको पनि छ । हो यस्तै नयाँ सपना बोकेर सहर भित्रिएको परिवार हो मेरो छिमेकी श्रवण कुमारको । उनको चार जनाको परिवार छ । एक छोरी, एक छोरा अनी श्रीमती र उ । श्रवण कुमार र उनकी श्रीमती दुवै जागिरे छन् । श्रीमान सरकारी जागिरे छन् भने श्रीमती स्कुल पढाउँछिन् । मलाई हिजो आज अचम्म र आश्चर्य लागेको कुरा एका एक श्रवण कुमारको परिवारमा धेरै परिवर्तन आएको छ । हिजो अस्ती दिनहु मदिरा सेवन गर्ने र नानाथरी कुरा निकालेर श्रीमतीसंग झगडा नगरी चित्त नबुझ्ने श्रवण कुमारमा अहिले निकै परिवर्तन आएको छ । श्रवण कुमारलाई सधै गालि गरिरहने र श्रीमानको ऋसमा छोरा छोरीलाई प्याट्ट पुट्ट पिट्ने उनको श्रीमतीमा पनि निकै परिवर्तन आएको छ । सधै झगडा गरिरहने अनि सधै उदाश देखिने छोरा छोरी पनि निकै खुशी र हर्षित भएर खेलिरहेको देख्छु ।
मलाई अचम्म लागेको कुरा अफिस विदाको समय घरमा बस्दा सिन्को सम्म नभाच्ने र टन्न जाँड खाएर आधा रातमा ढोका हान्न आउँने श्रवण कुमार हिजो आज श्रीमतीलाई घरको काममा निकै खुशी भएर सघाँइरहेको देख्छु । हिजो अस्ती ९ बजे बिहानसम्म सुत्ने श्रवण कुमार अहिले बिहानै उठेर जुठा भाडा माझ्ने , कोठा सरसफाई गर्ने, छोरा छोरीलाई खुवाने, उनीहरुको सरसफाई गर्ने गर्छन । मेरो कोठा नजिकै भएर होला उनीहरुको हरेक गतिविधि नियालीरहेको हुन्छ । हिजो अस्ती सधै खाना मिठो भएन , तरकारी मिठो भएन, यो भएन, त्यो भएन भनेको आवाज मात्रै ठोक्कीने श्रवण कुमारको परिवारमा आज तरकारी के पकाउँने , खाना कतिबेला खाने, छोरालाई यो मनपर्छ , छोरीलाई यो मनपर्छ , अनि हजुरलाई यो मनपर्छ भनेर सल्लाहा भएको आवाज गुन्जन्छन् । यतिमात्रै हैन श्रवण कुमार र उनको श्रीमती बिचमा हिजो आज भविष्यका बारेमा पनि धेरै कुरा हुन थालेको छ । हिजो भविष्यका बारेमा वास्तै नगर्ने श्रवण कुमार आज छोरा, छोरीको भविष्य र आफ्नो परिवारको भविष्यका बारेमा चिन्तित छन् ।
लकडानले श्रीमतीसंग फेरी लभ पर्यो
साच्चै मेरो छिमेकी श्रवण कुमारको परिवारमा यो लकडाउनले ठुलो परिवर्तन ल्याएको छ । हिजोका दिनमा आदि महिना बोलचाल हुने र आदि महिना बोलचाल बन्द हुने श्रीमान श्रीमती बिचको सम्बन्धमा निकै सुधार ल्याएको छ । हिजो एक अर्काबिचमा सामान्य सल्लाहा समेत नहुने यो परिवारमा अहिले श्रीमान ,श्रीमती मज्जाले खुलेर कुरा गर्छन र सबै कुरा शेयर गर्छन । एकदिन श्रवण कुमार भाँडा माझ्दै थियो र उनकी श्रीमती पनि नजिकै पानी थाप्दै थिइन् मेरा अर्का छिमेकीले खै के भनेर जिस्क्यायो कुन्नी मैले राम्ररी सुनिन तर श्रवण कुमार हास्दै भन्दैथियो मेरो त लकडाउनले गर्दा श्रीमती संग फेरी लभ परेको छ । श्रवण कुमारले यसो भनिरहदा उनकी श्रीमती मुसुमुसु हास्दै थिइन् । अहिले यस्तो लाग्छ यो लकडाउनकै कारण अहिले बषौँदेखी झाँगीदिै गएको श्रवण कुमार र उनकी श्रीमतीबिच उब्जीएको शंका उपशंक पनि समाप्त भएको छ । अब उनीहरुको फेरी नयाँ जीवनको सुरुवात भएको छ ।
विश्वमा महामारीका रुपमा फैरिरहेको कोरोना भाइरसबाट बच्न जारी लकडाउनले विभिन्न क्षेत्रमा ठुलो समस्या त ल्याएकै छ । तर मेरो छिमेकी श्रवण कुमारको जस्तै श्रीमतीसंग फेरी लभ पर्ने हरु पनि धेरै छन् । होला लकडाउनका कारण कतिको परिवारमा समस्या पनि आएका होलान तर पुरा समय परिवारसंग विताउँदा र उनीहरुको भावनालाई बुझ्दा धेरै टुटीसकेका सम्बन्धहरु फेरी जोडिएका छन् । हाम्रो समाजमा विभिन्न कारणले निम्त्याको पारिवारी कलह तथा विमेलहरुलाई सम्बन्ध सुधार र मिलनको बाटो तिर लैजान यो लकडाउनले निकै ठुलो भुमिका खेलेको छ । यहि लकडाउनका कारण बषौँदेखी गाउँ नआएका हरु गाउँ आएका छन् । बषौँदेखी नमिलेका प्यार, ममता र साथ धेरैलाई मिलेको छ । सहर होस या गाउँ मेरो छिमेकी श्रवण कुमारको पविारमा जस्तै धेरैको परिवारमा सम्बन्ध र मायाको खुशीका बहारहरु छाएका छन् । मेरा छिमेकी श्रवण कुमार जस्तै मेरा अर्का छिमेकी अकंल आन्टी पनि हिजो आज झगडा गर्दैनन् । अंकल मदीरा सेवन गरी सधै झगडा गर्ने त्यो परिवारमा पनि लकडाउन भएदेखी यस्तो आवाज सुनिदैन। सायद लकडाउनका कारण मदिरा पिउँने होटल तथा भट्टी पसलहरु बन्द भएर पनि सुधार भएको हुन सक्छ । तर श्रवण कुमारको परिवारलाई जस्तो छिमेकी अंकलको परिवारलाई पनि नियाल्ने गर्छु । विगतमा भन्दा हिजो आज अंकलमा निकै राम्रा व्यवाहारिक परिवर्तनहरु देख्छु । विगतमा सधै नचाइदो कुरामा आन्टीसंग निउँ खोज्ने र झगडा गर्न रुचाउने अंकल हिजो आज त्यहि आन्टीसंग र परिवारका अन्य सदस्यसंग खुलेर गफ गरिरहेको देख्छु । यतिमात्रै हैन अकललाई हिजो आज आफ्नो खेतमा खेतीपाती गर्ने जाँगर पनि चलेको छ । अंकलको व्यवहारमा आएको परिवर्तनका कारण हिजो आज आन्टीको मुहार उज्यालो देख्छु । सधै दुःखका कुरा मात्रै गर्ने आन्टी अहिले दुःख र पीडाका कुराहरु गर्न छाडेकी छिन् । साच्चै नै लकडाउनले मेरा नजिकै रहेका दुइछिमेकी श्रवणकुमार र अंकलको परिवारमा ठुलो सकरात्मक परिवर्तन ल्याएको छ । अरुले जे जे भनेपनि यी दुई परिवारमा आएको सकरात्मक परिवर्त , एक अर्काविच उब्जीएको शंका उपशंका अनि पारिवारीका विमेललाई समाप्त गरी अटुट विश्वास र बलियो सम्बन्ध विस्तारमा यो लकडाउनले ठुलो भुमिका खेलेको मलाई महशुस भएको छ । विनासले विकास पनि ल्याउँछ भनेको जस्तै केहि यस्ता समस्या हुदा रहेछन् जसले बषौँदेखी उब्जाएको समस्या र आशंकालाई समाधान गरी विश्वास र मायाको बलियो डोरीले बाध्दोरहेछ । सायद अहिलेको लकडाउन पनि धेरै बिग्रीएका सम्बन्ध सुधार गर्ने र कसैको पर्खाइमा बषौँदेखी टोलाएका आँखा नयाँ चाल ल्याइदिएको छ ।
कोरोना कहर
नेपालमा लकडाउन जारी भएको ३७ आँैदिनसम्म आइपुग्दा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । यसमध्य १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । देशकै सबैभन्दा बढि उदयपुर जिल्लामा कोरोना संक्रमण भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको विश्वभर दिन प्रतिदिन संख्या बढिरहेको छ । २०७७ वैशाख १७ गते बिहान सम्मको तथ्यांक अनुसार २ लाख १७ हजार ७ सय ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमित ३१ लाख ३५ हजार ८ सय ९५ मध्ये ९ लाख ५२ हजार ९ सय ९० जना उपचारपछि निको भएका छन् । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कसैको लापरवाहीका कारण मानव स्वास्थ्यमा संकट नपरोस भन्दै सरकारले गरेको लकडाउनको समयावधि थप गरीरहेको छ । त्यसैले यो लकडाउनको समयलाई सकरात्मक कामका लागि प्रयोग गरौँ आफु पनि बचौ अरुलाई पनि बचाउँ ।