च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोना हार्‍यो

  • प्रकाशित मिति: बुधबार, चैत्र ३० २०७३
  • तामाकोसी खबर

चैत ३० – च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस जाइन्ट बार्सिलोना पराजित भएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा इटालियन क्लब युभेन्टसले बार्सिलोनालाई ३–० ले हराएको हो । बार्सिलोनालाई हराउने क्रममा युभेन्टसका लागि पाउलो डिबालाले दुई तथा जर्जियो चिलिनीले एक गोल गरे । सातौं मिनेटमा नै डिबालाले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । २२ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा युभेन्टसले २–० को अग्रता लियो । खेलअवधिभर बलमा नियन्त्रण बार्सिलोनाको बढी भएपनि गोल भने गर्न सकेन । आन्द्रेस इनिएस्टा, लियोनल मेस्सी, लुइस स्वारेज तथा नेइमारले राम्रो खेले पनि गोल भने गर्न सकेनन् । ५५ औं मिनेटमा चिलिनीले गोल गरेपछि युभेन्टसले ३–० को अग्रता लियो ।

त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र बार्सिलोना अवे मैदानमा ३–० ले पराजित भयो । यी दुई टिमबिच सन् २०१५ मा च्याम्पियन्स लिगको फाइनलमा भेट भएको थियो । त्यसबेला बार्सिलोनाले ३–१ को जित निकाल्दै उपाधि जितेको थियो । तर अहिले युभेन्टसले रणनीति परिवर्तन गरेर खेल्यो र जित निकाल्यो । हारपछि सेमिफाइनलमा पुग्न बार्सिलोनालाई निकै संघर्ष गुर्न पर्ने भएको छ ।



दोस्रो लेग अप्रिल १९ मा बार्सिलोनाको मैदान क्याम्प नाउमा हुनेछ । तर अन्तिम १६ को खेलमा पहिलो लेगमा अवे मैदानमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीसँग ४–० ले हारेको बार्सिलोना घरेलु मैदानमा भएको दोस्रो लेगमा ऐतिहासिक पुनरागमन गर्दै ६–१ को जितसहित अन्तिम ८ मा स्थान बनाउन सक्यो । त्यसले गर्दा बार्सिलोनाले क्वाटरफाइनलको दोस्रो लेगमा पनि यस्तै शानदार पुनरागमन गर्न सक्ने सम्भावना भने छ ।