विश्वकपमा नक आउट खेल्ने ३२ टोलीको टुंगो, कुन देश‍ कोसँग भिड्दैछन् ?

  • प्रकाशित मिति: आइतबार, असार १४ २०८३
  • तामाकोशी

एजेन्सी | फिफा विश्वकप २०२६ को पहिलो नक आउट चरणको समीकरण पूरा भएको छ। आइतबार बिहान समूह चरणका खेलहरू सकिएपछि नक आउट खेल्ने सबै ३२ टोलीको टुंगो लागेको हो।

१२ वटा समूहबाट विजेता र उपविजेता बनेर चौबिस टोली नक आउट प्रवेश गरेका छन्। बाँकी ८ देश तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट नतिजाका आधारमा छनोट भएका हुन्।



समूह ए बाट मेक्सिको र दक्षिण अफ्रिका, बी बाट स्विट्जरल्याण्ड र क्यानडा, सी बाट ब्राजिल र मोरक्को, डी बाट अमेरिका र अस्ट्रेलिया, ई बाट जर्मनी र आइभोरी कोस्ट, एफ बाट नेदरल्याण्ड्स र जापान, जी बाट बेल्जियम र इजिप्ट, एच बाट स्पेन र केप भर्डे, आई बाट फ्रान्स र नर्वे, जे बाट अर्जेन्टिना र अस्ट्रिया, के बाट कोलम्बिया र पोर्चुगल, एल बाट इंग्ल्याण्ड र क्रोएशिया समूह विजेता र उपविजेता बनेर नक आउट प्रवेश गरेका हुन्।

तेस्रो स्थानमा उत्कृष्ट नतिजाका आधारमा कंगो, स्वीडेन, घाना, इक्वेडर, बोसनिया एन्ड हर्जगोभिना, अल्जेरिया, पाराग्वे र सेनेगल नक आउटमा पुगेका छन्।

नक आउट चरण भोलिदेखि नै सुरू हुनेछ। भोलि बिहान १२:४५ बजे दक्षिण अफ्रिका र क्यानडाबीच नक आउटको पहिलो खेल हुनेछ। नक आउटमा नेदरल्याण्ड्स र मोरक्को, जर्मनी र पाराग्वे, फ्रान्स र स्वीडेन, बेल्जियम र सेनेगल, अमेरिका र बोसनिया एन्ड हर्जगोभिना, स्पेन र अस्ट्रिया, पोर्चुगल र क्रोएशिया, ब्राजिल र जापान, आइभोरी कोस्ट र इक्वेडर, इंग्ल्याण्ड र कंगो, कोलम्बिया र घाना भिड्दा अर्जेन्टिनाले केप भर्डेसँग खेल्नेछ।

पहिलो नक आउटबाट पराजित हुने १६ टोली बाहिरिनेछ। जित्ने टोलीले अन्तिम १६ मा भिड्नेछन्। अन्तिम १६ का खेलहरू जुलाई ४ देखि सुरू हुनेछन्।