खेलकुद क्षेत्रको दिगो विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा हुनुपर्छ : मन्त्री गुरुङ

  • प्रकाशित मिति: मंगलबार, असार १७ २०८२
  • तामाकोशी

रामेछाप । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको खेलकुद क्षेत्रको दिगो विकासका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।

मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको आधारभूत भलिबल प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।



उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि राम्रो नीति र पूर्वाधार अपरिहार्य छ, बजेट पनि त्यसैअनुसार हुनुपर्छ।” उहाँका अनुसार अहिले खेलकुदका लागि करिब ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ तर यो रकम प्रयाप्त नभएको उल्लेख गर्दै उहाँले आगामी दिनमा कम्तीमा ३० देखि ५० अर्ब रुपैयाँको लगानी आवश्यक पर्ने धारणा राख्नुभयो। मन्त्री गुरुङले नीति निर्माण, पूर्वाधार विकास, कार्यान्वयन र अनुगमनका पक्षमा सरकार अझ सक्रिय हुनुपर्ने बताउनुभयो। “बजेट विनियोजन मात्रै होइन, त्यसको कार्यान्वयन कति प्रभावकारी भयो भन्ने पनि सरकारको प्रमुख चासो हुनुपर्छ,” उहाँको भनाइ थियो।
प्रशिक्षक भट्ट र डा. धामीलाई सम्मान
रामेछाप जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपनिर्देशक तथा वरिष्ठ भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्टलाई दोसल्ला ओढाएर र प्रशंसा पत्रद्वारा सम्मान गरियो। उहाँको भलिबल खेलमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। त्यसैगरी, विभिन्न खेलकुद प्रतियोगितामा स्वास्थ्य सेवाबाट निरन्तर सहयोग पु¥याउँदै आएको भन्दै मन्थली अस्पतालका प्रमुख डा. केशव धामीलाई पनि प्रशंसा पत्र प्रदान गरियो।

तालिममा सहभागी भएका भलिबल प्रशिक्षकहरूलाई मन्त्री गुरुङले प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ प्रशिक्षक भट्टले बजेट कार्यान्वयनको पक्ष अझै कमजोर रहेको भन्दै योजना कार्यान्वयनमा निगरानी र पारदर्शिता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले खेलकुद क्षेत्रको समग्र सुधारका लागि सरकारले विनियोजन गरेको बजेटलाई परिणाममुखी बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।