रामेछाप । दोस्रो मन्थली ‘नगर कप’को उपाधि वडा नं–७ भटौलीले जितेको छ । शनिवार भएको फाइनल खेलमा वडा नं १ मन्थलीलाई २५–२२, २५–२३ र २५–१९ को सोझो सेटमा हराउँदै भटौलीले नगर कपको उपाधि हात पारेको हो । पहिलो भएको वडा नं ७ भटौलीले एक लाख रुपैयाँ नगद सहित शिल्ड ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भटौलीले उत्कृष्ट खेलाडी र कोचको उपाधि पनि आफ्नो पोल्टामा पारेको छ । भटौलीसँग पराजित भएको वडा नं १ मन्थलीले उप–विजेता बन्दै नगद ७५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । वडा नं ८ चिसापानीले वडा नं ४ सालुलाई २६–२४, २५–२० र २५–१९ को सोझे सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । चिसापानीले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । एक जना उत्कृष्ट खेलाडी समेत आफ्नो पक्षमा पार्न चिसापानी सफल भएको छ । सान्त्वना भएको वडा नं ४ सालुले नगद ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । विजेता वडाका खेलाडीहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठले उप–प्रमुख ईश्वरी बस्नेत र वडा अध्यक्षहरूको उपस्थितिमा पुरस्कार राशि, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो नगर कपमा विभिन्न सात विधामा उत्कृष्ट खेलाडी, कोच र सर्वोत्कृष्ट खेलाडी नगद तीन हजार र पाँच हजार सहित पुरस्कृत भएका छन् । गत बुधवारदेखि जिल्ला समन्वय समितिको मैदानमा भएको प्रतियोगितामा मन्थली नगरपालिकाका १४ वटै वडाको सहभागिता थियो ।

