रामेछाप । नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको अन्तरपालिका स्तरीय प्रथम फुटसल कप–२०८० को उपाधि दोरम्बा शैलुङ गाउँपालिका सम्पर्क मञ्चले जितेको छ । सम्पर्क मञ्चको युवा तथा खेलकुद विभागको संयोजनमा यही माघ ६ गते शनिवार नेशनल स्पोट्स सेन्टर, च्यासल, ललितपुरमा भएको प्रतियोगितामा लिखुतामाकोशी गाउँपालिका सम्पर्क मञ्च द्वितीय , मन्थली नगर सम्पर्क मञ्च तृतीय र रामेछाप नगर सम्पर्क मञ्च टिम सान्त्वना भएको आयोजक एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार प्रथम हुने टिमले ३० हजार , दोस्रोले २० हजार, तेस्रोले १० हजार र सान्त्वना हुने टिमले पुरस्कार ५ हजारसहित नगद,सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित भएको प्रतियोगितामा रामेछाप जिल्लाका २ नगरपालिका र ६ गाउँपालिका गरी ८ वटै स्थानीय तहका १६ वटा टिमबिच प्रतिस्पर्धा भएको थियो । अध्यक्ष श्रेष्ठले प्रतियोगितामा सहभागी टिम, सम्पूर्ण खेलाडी, टिम कोच, व्यवस्थापक, मुख्य प्रायोजक प्रायोजक र सहयोगी लगायत सबैमा धन्यवाद व्यक्त गर्नुभयो । नेकपा एमाले स्थायी कमिटी सदस्य इन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा केन्द्रीय सदस्य माधव ढुङ्गेल , बागमती प्रदेश सम्पर्क कमिटी इन्चार्ज रुकमणि राना, इन्चार्ज कृष्ण कुमार आङ्देम्बे लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
