एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले गर्ने अन्तरपालिका फुटसल कपको तयारी पूरा

  • प्रकाशित मिति: बिहिबार, माघ ४ २०८०
  • तामाकोशी

काठमाडौं । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले यही माघ ६ गते अन्तर पालिकास्तरीय फुटसल कप २०८० आयोजना गर्ने भएको छ । काठमाडौंको कोटेश्वरस्थित होटल ए वान भेन्युमा विहीबार पत्रकार सम्मेलन गरी एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले प्रतियोगिता बारे जानकारी दिएको हो । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित हुने प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकागरी ८ वटै स्थानीय तहका १६ वटा टिमबीच प्रतिस्पर्धा हुने रामेछाप काठमाडौं सम्पर्क मन्चका अध्यक्ष राकेश श्रेष्ठले बताउनुभयो । प्रत्येक पालिकाबाट दुई÷दुई वटा गरी १६ टिमले भाग लिने फुटसल कपको सबै तयारी पूरा भएको उहाँले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार प्रथम हुने टिमलाई ३० हजार नगदसहित मेडल प्रदान गरिनेछ । त्यस्तै दोस्रोले २० हजार, तेस्रोले १० हजार र सान्त्वना पुरस्कार ५ हजारसहित नगद,सिल्ड र प्रमाणपत्र दिइने उहाँले बताउनुभयो । प्रतियोगिता विहान ८ बजेदेखि च्यासलस्थित नेशनल स्पोर्टस सेन्टरमा आयोजना हुने सम्पर्क मन्चले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित मेडयल दिइने सम्पर्क मन्चको युवा तथा खेलकुद विभागका कार्यक्रम संयोजक विनोद कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार खेलको अवधि फाइनलका लागि २० मिनेट,सेमिफाइनल र क्वार्टर फाइनल १४ मिनेट र लिग खेलको समय १२ मिनेट तोकिएको छ । एउटा टिमबाट ५ जनाले मैदानमा खेल्न पाउँने र ८ जना खेलाडी समावेश हुने श्रेष्ठले बताउनुभयो । पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन दिनुभयो ।