देशमै पहिलो पटक रामेछापबाट खेलकुद बीमालेख कार्यान्वयनमा : ८३३ जना खेलाडीले बीमा गराए

  • प्रकाशित मिति: आइतबार, पुष २२ २०८०
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लामा देशमै पहिलो पटक खेलकुद बीमालेख कार्यान्वयनमा आएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिकामा आयोजित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीहरूको खेलकुद बीमालेख (बीमा पोलिसि) अनुसार बीमा गरेपछि कार्यान्वयनमा आएको हो ।

नेपालको बीमा इतिहासमै पहिलो पटक नेपाल बीमा प्राधिकरणले २०८० मङ्सिर १३ गते खेलकुद बीमालेख (बीमा पोलिसि) जारी गरेको थियो । सोही बीमा पोसिली अनुसार रामेछापको उमाकुण्डमा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी ८३३ जना खेलाडीहरूको बीमा गरिएको नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य भीमसेन लामाले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘नेपाल बीमा प्राधिकरणले जारी गरेको खेलकुद बीमालेख (बीमा पोलिसि) अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी ८३३ जना खेलाडीले बीमा गराएका छन् । अब यो पोसिली अनुसार खेलाडीहरूको बीमा गर्ने रामेछाप देशकै पहिलो जिल्ला बनेको छ ।’’ प्रतियोगितामा सहभागी खेलाडीहरूले एन.एल.जी इन्स्योरेन्स कम्पनी मार्फत खेलकुद बीमालेख गराएको लामाले तामाकोशी अनलाइनलाई जानकारी दिनुभयो । प्राधिकरणले निर्माण गरेको बीमालेख अनुसार खेलकुद बीमालेखको अवधि ७ दिनदेखि एक वर्षको हुने भएकाले ८३३ जना खेलाडीले ७ दिन अवधिको बीमालेख गराएको उहाँले बताउनुभयो । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगरलाई खेलाडीहरूको खेलकुद बीमालेख (बीमा पोलिसि) हस्तान्तरण गर्नुभएको थियो ।