रामेछाप । नेपाल खेलकुद महासंघले दशैँलाई लक्षित गरेर खुल्ला पुरुष फुटबल प्रतियोगिता र स्लो बाइक रेस प्रतियोगिता गर्ने भएको छ । खेलकुद महासंघको जिल्ला कमिटीले जिल्ला सदरमुकाम मन्थलीमा खुल्ला पुरुष फुटबल प्रतियोगिता र खाँडादेवी गाउँपालिका कमिटीले खाँडादेवीको गाल्पामा स्लो बाइक रेस प्रतियोगिता आयोजना गर्न लागेका छन् । जिल्ल कमिटीले असोज २६ र २७ गते मन्थलीमा खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै छ ।
प्रतियोगितामा ३० वर्ष माथिका खेलाडीले भाग लिन पाउने नेपाल खेलकुद महासंघ रामेछापका अध्यक्ष तेज घिसिङले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी टिमलाई खसी र बोका पुरस्कार दिइने भएको छ । प्रथम हुने टिमले २५ किलो तौल बराबरको खसी पाउने छ भने दोस्रो हुनेले १५ किलो बराबरको बोका पुरस्कार स्वरूप पाउने छ । विजया दशमी र तिहारको शुभकामना आदान प्रदान गर्न आयोजना गरिने कार्यक्रममा फुटबल प्रतियोगिता समेत राखिएको घिसिङले बताउनुभयो । खाँडादेवीको गाल्पामा नेपाल खेलकुद महासंघ खाँडादेवी गाउँ कमिटी र रामेछाप जिल्ला तेक्वान्दो आईटीएफ एसोसिएसनको आयोजनामा कात्तिक ६ गते स्लो बाइक रेस तथा खेलाडी सम्मान कार्यक्रम हुने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार पुरस्कारका साथै मेडल पाउने आयोजक संस्थाका सपुत मोक्तानले जानकारी दिनुभयो ।
