दक्षिण एसियाली आईटीएफ तेक्वान्दोमा विजयी खेलाडीलाई सम्मान

  • प्रकाशित मिति: मंगलबार, साउन ३० २०८०
  • तामाकोशी

रामेछाप । सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा विजयी रामेछापका खेलाडीलाई रामेछापको खाँडादेवी गाउँपालिकाले सोमबार सम्मान गरेको छ । भारतको हैदराबादमा सम्पन्न सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा खाँडादेवी गाउँपालिकाका निर्मल लामाले स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । उहाँले स्पाइरिङ तर्फ ५५–६० केजी तौल समूहको खेलमा सो पदक जित्नु भएको हो । प्रतियोगितामा खाँडादेवीका रोशन घिसिङ स्पाइरिङ तर्फ ५०–५५ केजी तौल समूहमा रजत पदक जित्न सफल हुनुभएको थियो । यसैगरी प्रतियोगितामा रामेछापको सुनापति गाउँपालिकाकी विनीता थापा मगरले स्पारिङ तर्फ ४५–५० केजी तौल समूह स्वर्ण पदक जित्नु भएको थियो । सो गाउँपालिकाका अनिल खड्काले स्पाइरिङ तर्फ ६०–६५ केजी तौल समूहमा रजत पदक जित्नु भएको थियो भने साहिल दोङले स्पाइरिङ तर्फ रजत पदक जित्नु भएको थियो । प्रतियोगितामा नेपालले ६२ पदक जितेको थियो । खेलमा नेपालले २२ स्वर्ण १५ रजत र २५ कांस्य २५ पदक जितेको थियो । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, दुबई, श्रीलंका र अफगानिस्तानले भाग लिएका थिए । २५ देखि ७५ केजी माथि सम्मका खेलाडीलाई विभिन्न समूहमा विभाजन गरी खेल खेलाइएको थियो । प्रतियोगितामा विजयी खेलाडीलाई गाउँपालिकामा बाजागाजा सहित स्वागत गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, पूर्व गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, गाउँपालिकाका प्रवक्ता पुष्करकुमार कार्की, नेपाल खेलकुद महासंघ रामेछापका अध्यक्ष तेज घिसिङ, खेलाडी, प्रशिक्षक धनराज मोक्तान, रेफ्री लगायतको सहभागिता रहेको थियो ।