रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीको गाईखुरामा प्रथम वडा कप पुरुष भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।
वडा कार्यालय चिसापानीको आयोजनामा सुरु भएको प्रतियोगिता असोज १७ गते सोमबारसम्म चल्ने छ । प्रतियोगितामा ह्युमन भिमेश्वरी , चिसापानी गढी संरक्षण तथा विकास समाज, ब्राइट स्टार ग्रुप, रिभर साइड स्पोर्ट्स क्लब, सल्लेपानी सामाजिक समाज र थानापनि युवा क्लब गरी ६ वटा टिमको सहभागिता रहेको मन्थली नगरपालिका वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा पहिलो हुने टिमले ३० हजार रुपियाँ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसैगरी दोस्रो र तेस्रो हुने टिमले क्रमशः २० हजार तथा १० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
प्रतियोगिताको उद्घाटन गर्नै मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठले अब्बल खेलाडीको पहिचान र नयाँ खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ मन्थली नगरपालिकाले खेल जगतलाई विशेष प्राथमिकतामा राखेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । अहिले मन्थली नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगार, खेलकुद र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ छ ।
