एजेन्सी । आईसीसी ट्वान्टी–२० विश्वकपको समूह चरण अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
पहिलो खेलमा वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । समूह १ अन्तर्गत शारजाहमा हुने यो खेलमा दुवै टोली दबाबमा हुनेछन् । यसअघिका दुई खेल हारेको वेष्ट इण्डिजलाई सेमिफाइनल आशा कायम राख्न आज जित्नैपर्नेछ । बंगलादेशको पनि अवस्था उस्तै छ । उसले पनि यसअघिका दुवै खेल हारेको थियो । यो खेल नेपाली समयअनुसार अपराह्न पौने ५ देखि सुरु हुनेछ ।
आजैको दोस्रो खेलमा राती पौने ७ बजेदेखि दुवई अन्तर्राष्ट्रिय रंगशालामा पाकिस्तान र उसको छिमेक अफगानिस्तानबीच खेल हुनेछ । तीव्र बलिङ मुख्य हतियारका रुपमा रहेको पाकिस्तान र घातक स्पिन बलिङका कारण परिचित अफगानिस्तानबीचको खेल रोमान्चक हुने आशा गरिएको छ । पाकिस्तानले यसअघि भारत र न्युजिल्याण्डलाई पराजित गरी प्रतियोगितामा अभूतपूर्व सुरुआत गरेको छ । उनीहरु जितको लयलाई कायम राख्न चाहन्छन् । लयमा रहेका कप्तान बाबर अजमको ब्याटिङ र सहिन साह अफ्रिदीको बलिङबाट आज पनि टिमले धेरै आशा राखेको छ ।
अफगानिस्तानले भने आफ्नो दोस्रो खेल खेल्दैछ । तर यसअघि स्कटल्याण्डमाथिको १ सय ३० रनको जितले उसको उत्साह बढाइदिएको छ । जितका लागि उसका विश्वस्तरीय स्पिनरहरु रशिद खान र मुजिव उर रहमानको घातक बलिङले निरन्तरता पाउनुपर्छ ।
ट्वान्टी–२० क्रिकेटमै अफगानिस्तानको सर्बाधिक योगफल अर्थात १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डलाई ६० रनमै समेट्न रशिद र मुजिवले ९ विकेट लिएका थिए । बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोला ।