रामेछाप । मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ वडा स्तरीय पुरुष भलिबलको उपाधि साबिक वडा नं १ फोस्रेले जितेको छ । नेपालीहरुको महान चाड वडा दशैँ तिहार तथा छट पर्वको अवसरमा वडा कार्यालय पुरानागउँको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा साविक वडा नं ३ बाङ्गेसल्लालाई २–० को सोझो सेटमा हराउँदै फोस्रेले उपाधि हात पारेको हो । असोज ३१ र कार्तिक १ गते भएको सो प्रतियोगितामा साबिक वडा नम्बर ३ बाङ्गेसल्ला दोस्रो र सबिक वडा नम्बर ८ सिक्राल तेस्रो हुन सफल भएका छन् । असोज ३१ गते मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले उद्घाटन गर्नुभएको भलिबल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमश २६ हजार ६६६ रुपैयाँ, २० हजार रुपैयाँ र १२ हजार ५५० रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । “स्वास्थ्यको लागि खेलकुदः रास्ट्रको लागि खेलकुद” भन्ने मुल नाराको साथ आयोजना गरिएको वडा स्तरीय भलिबल प्रतियोगिताको समापन गर्दै वडाध्यक्ष बुद्धी बहादुर पुलामी मगर(भरत) ले खेलप्रति यूवाहरुको आकर्षण, रुचि र चासो बढ्दो रहेकाले पुरानागाउँमा धेरै भन्दा धेरै खेलाडीहरु उत्पादन गर्न सहयोग होस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । पुरानागाउँका यूवाहरुलाई खेल क्षेत्रमा सशक्त बनाउँका लागि वडा कार्यालयले विगत देखिनै यस्ता प्रतियोगिताहरु गर्दै आएको उहाँको भनाई थियो । कार्यक्रममा पुरानागाउँका समाजसेवी तथा अधिवक्ता ज्ञानेन्द्रराज आरण, पत्रकार नवराज श्रेष्ठ र रेफ्री शुक्र माझीले खेल राष्ट्रको गहना भएकाले यो क्षेत्रमा यूवाहरुलाई केन्द्रीत गराउनुपर्नेमा जोड दिनुभएको थियो । नेपालको राष्ट्रि खेल भलिबल प्रति पुरानागाउँका यूवाहरुको आकर्षण सँगै खेलमा राम्रो प्रगति गरेको भन्दै उहाँहरुले खुसी व्यक्त गर्नुभएको थियो ।


