इपिएलः आजबाट प्ले अफका खेल सुरु

  • प्रकाशित मिति: बुधबार, असोज २० २०७८
  • तामाकोशी

काठमान्डौं, असोज २० गते । चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा आज बुधबार प्ले अफका दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुन लागेको हो ।

बिहान साढे ९ बजे सुरु हुने पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष तथा विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न लागेको हुन् । यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ । दुवै टोली आज जित निकाल्दै पहिलोपटक लिगको फाइनल पुग्न चाहन्छन् ।



पराजित हुनेले एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । लिग अन्तर्गत बुधबार नै हुने एलिमिनेटरमा काठमान्डौं किङ्ग्स-११ र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमान्डौंले चौथौ स्थानमा रहदै एलिमिनेटर खेल्न लागेका हुन् ।

यसअघिका तीनवटै फाइनल खेलेको भैरहवा चौथौपटक पनि फाइनल पुग्ने सम्भावनालाई कायम राख्न काठमाडौँलाई पराजित गर्न चाहन्छ । पहिलोपटक फाइनल पुग्ने दाउमा रहेको काठमान्डौं पनि भैरहवाको चुनौतिलाई पन्छ्याउँदै अघि बढ्ने प्रयासमा हुनेछ ।