साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नतिजाबाट आफू खुशी रहेको र तीन अंक नै ठूलो भएको बताउनु भएकोछ । मालेस्थित नेशनल स्टेडियममा सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो ।
उहाँले नेपालको लागि तीन अंक नै ठूलो भएको बताउनुभयो । पाँच राष्ट्र सम्मिलित साफमा नेपालले लगातार दुई जितबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लेको छ । श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ ।
दोस्रो जितपछि नेपालको अब फाइनल पुग्ने सम्भावनासमेत बढेको छ । प्रशिक्षक अलमुताइरीले पनि यस जितले फाइनल पुग्ने सम्भावना बढाएको बताउनु भएकोछ । नेपालले अब अर्को खेल असोज २४ गते भारतसंग खेल्नेछ । त्यसपछि बंगलादेशसंग असोज २७ गते खेल्नेछ ।