काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत शनिवार राती भएको अन्तिम १६ को दोस्रो खेलमा इटालीले अस्ट्रियालाई २-१ गोलले पराजित गरेको छ।
लन्डनको वेम्बली मैदानमा भएको खेलमा समूह ‘ए’ विजेता इटाली र समूह ‘सी’ उप-विजेता अष्ट्रियाले निर्धारित ९० मिनेटसम्म कुनै गोल गर्न नसक्दा खेल अतिरिक्त समयतर्फ गएको थियो।
अतिरिक्त समयको दोस्रो हाफमा २-० गोलको अग्रता लिएर मैदानमा उत्रेको इटालीले प्रतियोगिताकाकै पहिलो गोल खान पुग्यो। खेलको ११४औं मिनेटमा अष्ट्रियाका सासा कालाजिकले गोल गर्दा अष्ट्रियाले खेलमा फर्किने संकेत देखायो तर बराबरी गोल भने थप्न सकेन।
यस जितसँगै इटाली क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने अष्ट्रियाको युरो कप यात्रा अन्त्य भएको छ। क्वार्टर फाइनल खेलमा अब इटालीले बेल्जियम र पोर्चुगलबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै गएरातिनै सम्पन्न अर्काे खेलमा डेनमार्कले शानदार जीत निकालेको छ । डेनमार्कले वेल्सलाई ४-० को फराकिलो अन्तरले हराएको हो । जीतसँगै डेनमार्कले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।