एजेन्सी । उपाधि दावेदार अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा पाराग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो ।
ब्रासिलियामा मंगलबार बिहान भएको खेलको पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको गोलमा अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । खेलको १०औं मिनेटमा एलेसान्द्रो गोमेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । एन्जल डि मारियाको थ्रु बलमा गोमेजले सुन्दर फिनिस गरेका थिए ।
यो जितपछि अर्जेन्टिना समूह ‘ए’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित पाराग्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चिली ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा उरुग्वे २ खेलबाट १ अंक जोडेर चौथो स्थानमा छ । अंकविहीन बोलिभिया पुछारमा छ ।