इटाली नकआउट चरणमा: स्विट्जरल्यान्डलाई ३–० ले हरायोे (भिडियोसहित)

  • प्रकाशित मिति: बिहिबार, असार ३ २०७८
  • तामाकोशी

रोम । म्यानुएल लोकाटेलीको दुई तथा सिरो इमोबाइलको एक गोलमा इटालीले बुधबार स्विट्जरल्यान्डलाई सजिलै ३–० ले हराएको छ । यससँगै इटाली युरो २०२० को नकआउट चरण पुग्ने पहिलो टिम बन्यो ।

समूह एको खेलमा ससुलोका मिडफिल्डर लोकाटेलीले २६औं मिनेटमा पहिलो गोल गरे भने दोस्रो हाफको सुरुमा इमोबाइलले दोस्रो गोल थपे ।खेलको ८९ औं मिनेटमा लोकाटेलीले तेस्रो गोल थपे । यो जितपछि रोबर्टो मानचिनीको टिम ६ अंकसहित आफ्नो समूहको शीर्ष स्थानमा छ । युरोमा ६ गोल गरिसकेको इटालीले गर्दै अहिलेसम्म कुनै गोल खाएको छैन । इटालीको यो लगातार दसौं जित हो ।



इटालीलाई वेल्समाथि दुई अंकको अग्रता प्राप्त छ । वेल्सले यसअघि टर्कीलाई २–० ले हराएको थियो । समूहमा स्विट्जरल्यान्डको एक अंक छ भने लगातार दुई खेलमा हार बेहोरेको टर्की अंकविहीन छ । अब इटालीले वेल्सविरुद्ध हुने आफ्नो अन्तिम खेलमा हार टार्न सफल रहे । त्यो नतिजा समूहको शीर्ष स्थान कब्जा गर्न पर्याप्त हुनेछ ।