काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनौटअन्तर्गत गएराति भएको खेलमा नेपालले हार व्यहोरेको छ । समूह बी अन्तर्गत आफ्नो सातौं खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको हो ।
जोर्डनको जीतमा बाह फैसलले २ गोल गरे भने याजान अलरबले १ गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको जोर्डनले दोस्रो हाफमा २ गोल थपेको थियो । खेलको २३औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लिएको थियो । रोहित चन्दले सुलेमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिए जसमा बाहा फैसल सेफले गोल गर्दै टोलीलाई अघि बढाए ।
दोस्रो हाफको सुरुवातमै जोर्डनले आफ्नो अग्रता दोब्बर पार्यो । ४८ औं मिनेटमा सेफले व्यक्तिगत दोस्रो गोल गरे । उनले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो ।
६८औं मिनेटमा जोर्डनले ३-० को अग्रता लियो । दायाँ विंगबाट आएको क्रसलाई याजान अलअरबले सहजै हेडरमार्फत गोल गरेका थिए । त्यसपछि कुनै गोल भएनन् र जोर्डन ३ अंक जोड्न सफल रह्यो ।
यस हारसँगै नेपाल विश्वकप छनौटको होडबाट बाहिरिएको छ । यद्यपि नेपाल एसियन कपमा छनौट हुने सम्भावना भने जीवितै रहेको छ । यस जीतसँगै जोर्डन ६ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी कुवेत समान खेलमा १० अंक सहित तेस्रो स्थानमा छ । गएराति नै भएको अर्को खेलमा अस्ट्रेलियाले ताइपेईलाई ५-१ ले हराउँदै शतप्रतिशत जीतसहित ६ खेलमा १८ अंक जोडेर शीर्षस्थानमा यथावत् छ ।
नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अर्को खेलमा जीत हासिल गरेर अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ । हार व्यहोरेमा नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन भने सक्नेछ । नेपालले अब आफ्नो अर्को खेल शुक्रबार अस्ट्रेलियासँग खेल्ने छ ।