कात्तिक ६ – फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो अपराजित यात्रा कायम गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले मार्सेइलीसँग २–२ को बराबरी खेलको हो । १६ औं मिनेटमा लुइज गुस्तावोले गोल गर्दै मार्सेइलीलाई सुरुवाति अग्रता दिलाए ।
३३ औं मिनेटमा नेइमारले पिएसजीका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ७८ औं मिनेटमा फ्लोरियन थविनले गोल गर्दै मार्सेइलीलाई फेरि अग्रता दिलाए । पहिलो हाफमा गोल गरेका स्टार खेलाडी नेइमारले ८७ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । बल नियन्त्रणमा लिएर अघि गइरहेका बेला नेइमारलाई मार्सेइलीका लुकास ओकाम्पोसले लडाए । नेइमारले उठेर उनलाई धकेले । रेफ्रीले लुकासलाई एक र नेइमारलाई दुई ओट पहेँलो कार्ड देखाए । त्यसपछि उनी बाहिरिन बाध्य भए । तर हारको संघारमा पुगेको पिएसजीलाई एडिसन काभानीले सुन्दर गोल गर्दै जोगाए ।
इन्जुरी समयमा काभानीले बराबरी गोल गरेका हुन् । बराबरीपछि शीर्ष स्थानको पिएसजीको १० खेलबाट २६ अंक भएको छ । अहिलेसम्म पिएसजीले दुई खेलमा बराबरी खेलेको छ भने ८ खेल जितेको छ ।