रामेछापमा पशुपालन क्षेत्रका ४२ किसानलाई ३३ लाख ४० हजार अनुदान

  • प्रकाशित मिति: सोमबार, असार ५ २०७४
  • तामाकोसी खबर

रामेछाप । असार ५ गते,
रामेछाप जिल्लामा रहेका  पशुपालनका क्षेत्रमा व्यवशायीकता तर्फ उन्मुख कृषकहरुलाई यो आर्थिक बर्षमा ३३ लाख ४० हजार अनुदान रकम बितरण गरिएको छ । सोमबार सदरमुकाम  मन्थलीमा जिल्ला पशुसेवा कार्यालयले एक कार्यक्रम आयोजना गरी जिल्ला भरका ४२ जना पशुपालन क्षेत्रका किसानहरुलाई उक्त अनुदान रकम बितरण गरेको हो । कार्यक्रममा गाई भँैसी पालन गर्ने १० जना किसानलाई ११ लाख ६० हजार , ५० वटा भन्दा बढि बाख्रा पालन गर्ने ८ जना किसानलाई १३ लाख, ५ माउँ र १५ भन्दा बढि मासुका लागि बंगुर पालेका ६ जना किसानलाई ६ लाख अनुदान रकमको चेक हस्तान्तरण गरिएको छ ।
अन्य ठाउँवाट उन्नत गाईभैसी ल्याउने १० जना किसानहरुलाई ढुवानी स्वरुप २ लाख ४० हजार , १० रोपनी वा त्यो भन्दा बढि क्षेत्रफलमा हिउँदे जै घाँस खेती गरी घाँसमा आधारीत पशु पालन र घासको बिउँ उत्पादनमा आत्मनिर्भर तर्फ उन्मुख ८ जना किसानलाई ४० हजार गरी कुल ३३ लाख ४० हजार अनुदान रकमको चेक प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री र स्थानीय विकास अधिकारी दिनेशराज पन्तले किसानहरुलाई बितरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खत्रीले किसानहरुलाई राम्रो काम गरेवापत प्रोत्साहान स्वरुप सरकारले दिएको अनुदान रकम सहि ठाउँमा प्रयोग हुनुपर्ने बताए । बितरण गरिएको अनुदानको रकम किसानले कसरी प्रयोग गरिरहेको छ भन्ने कुराको जिल्ला पशुसेवा कार्यालयले एउटा संयन्त्र बनाएर अनुगमन गर्नुपर्ने उनको भनाई छ । स्थानीय विकास अधिकारी दिनेशराज पन्तले बितरण गरिएको अनुदान रकमवाट सरकारले जुन अपेक्षा राखेर दिएको छ त्यो किसानले देखाउनुपर्ने बताए । जसका लागि किसानहरुले गदै आएको पशुपालन व्यवसायलाई बढाउदै लान आवश्यक रहेको उनको भनाई छ । जिल्ला पशुसेवा कार्यालय रामेछापका प्रमुख डा. नारायण प्रसाद शर्माले अनुदान पाएपछि किसानहरुमा अल्छेपना देखा पर्ने अन्य ठाउँको उदाहरण दिदै रामेछापमा त्यस्तो हुन नहुने बताए । यो त राम्राा काम गर्ने किसानलाई मुल्याङकन गरी राज्यले गरेको साने सहयोग मात्रै हो , राम्रा काम गर्ने किसानहरुका लागि सरकारले पनि राम्रो अनुदानका रकमहरु ल्याउछ उनको भनाई छ । अनुदान पाउने किसानहरुले आफुहरुको कामलाई सम्मान गरेर जिल्ला पशुसेवा कार्यालयले दिएको रकम सहिठाउँमा सदुपयोग गरी आफ्नो व्यवसायलाई बढाउने बताए । उनिहरुले राम्रो काम गर्ने किसानलाई प्रोत्साहान दिने सरकाको नितिलाई पशुसेवा कार्यालय रामेछाापले प्रभावकारी कार्यान्वयन गरेको बताए ।