रामेछाप-राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, रामेछाप जिल्ला कार्यसमितिको प्रथम जिल्ला अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम–२०८३ आयोजना हुने भएको छ।
तदर्थ समितिका संयोजक कल्पना सुनुवारका अनुसार कार्यक्रम २०८३ साल असार २७ गते मन्थली नगरपालिका–१ स्थित तिनलाल पार्क, मन्थलीमा सञ्चालन हुनेछ। अधिवेशनसँगै लोक तथा दोहोरी संगीतको संरक्षण, प्रवर्द्धन र नयाँ प्रतिभाको सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले विशेष सांस्कृतिक प्रस्तुति पनि रहनेछ।
कार्यक्रममा प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा, चर्चित लोक तथा दोहोरी कलाकारहरू पशुपति शर्मा, सीता थापा, रामकुमार नेपाली, बद्री पंगेनी, दुर्गा रायमाझी, सुवास केसी, दीपक खड्का, राधिका हमाल, कृष्ण रेउले, विशाल हमाल, देवी घर्ती, जुनु श्रीस, दिनेश काफ्ले, उमा सुन्दरी र भरत बराइली लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
अधिवेशनमार्फत नयाँ जिल्ला नेतृत्व चयन गरिनुका साथै लोक तथा दोहोरी संगीतको संरक्षण, प्रवर्द्धन र कलाकारबीच आपसी सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।