रामेछाप, गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६३ करोड ५ लाख २० हजार २७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले ग्रामीण विकास, आधारभूत सेवा विस्तार र दिगो विकासका लक्ष्यलाई केन्द्रमा राख्दै बजेट तथा कार्यक्रम अघि सारेको हो।
बुधबार सम्पन्न गाउँसभाको अधिवेशनमा उपाध्यक्ष उषादेवी कार्की ले बजेट प्रस्तुत गर्दै ग्रामीण पूर्वाधार विकास, अधुरा योजनाको निरन्तरता, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, डिजिटल प्रविधि विस्तार, उद्यमशीलता प्रवर्द्धन र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताइन्।
गाउँपालिकाले चालु आर्थिक वर्षको प्रगति विवरण पनि सार्वजनिक गरेको छ। हालसम्म प्राप्त ५२ करोड ९७ लाख रुपैयाँभन्दा बढी बजेटमध्ये ५७ प्रतिशत खर्च भइसकेको जनाइएको छ। चालुतर्फ ६३ प्रतिशत र पुँजीगततर्फ ४५ प्रतिशत बजेट खर्च भएको विवरण सभामा प्रस्तुत गरिएको थियो।
गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का ले आगामी वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता, खानेपानी विस्तार, पर्यटन प्रवर्द्धन तथा ग्रामीण पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए।
उनका अनुसार आगामी आर्थिक वर्षमा अधुरा तथा क्रमागत योजनालाई पहिलो प्राथमिकता दिइनेछ। साथै उत्पादन वृद्धि, रोजगारी सिर्जना र आधारभूत सेवामा नागरिकको पहुँच विस्तार गर्दै गाउँपालिकाको समग्र विकासलाई गति दिने लक्ष्य लिइएको छ।