काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी अमेरिकी सैन्य कारबाही आफूले पर्याप्त भएको घोषणा नगरेसम्म नरोकिने बताएका छन्।
फक्स न्युजको स्पेसल रिपोर्ट कार्यक्रममा मंगलबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले इरानको सैन्य क्षमता उल्लेखनीय रूपमा कमजोर भइसकेको दाबी गरे। उनका अनुसार इरानसँग अझै केही प्रतिरोध गर्ने क्षमता बाँकी भए पनि त्यो धेरै बलियो अवस्थामा छैन।
अमेरिकी सैन्य आक्रमण कहिलेसम्म जारी रहने भन्ने प्रश्नको जवाफमा ट्रम्पले, “मैले पुग्यो नभनेसम्म आक्रमण जारी रहनेछ,” भन्दै अभियान तत्काल अन्त्य हुने संकेत नरहेको स्पष्ट पारे।
उनले आगामी साताभित्र इरानका ऊर्जा तथा यातायात पूर्वाधारलाई लक्षित गर्दै थप सैन्य कारबाही हुन सक्ने संकेत पनि दिएका छन्।
ट्रम्पका अनुसार अमेरिका र इरानबीच मंगलबार वार्ता हुने तयारी छ। तर, वार्ताबाट कुनै सहमति ननिस्किए सैन्य कारबाहीलाई अझ तीव्र बनाइने चेतावनी उनले दिएका छन्।
यससँगै अमेरिका–इरानबीचको तनाव थप चुलिने संकेत देखिएको छ।