लिखुतामाकोशीले ल्यायो ७० करोड ६४ लाखको बजेट, पूर्वाधार विकासलाई उच्च प्राथमिकता

  • प्रकाशित मिति: बिहिबार, असार ११ २०८३
  • तामाकोशी

रामेछाप, लिखुतामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७० करोड ६४ लाख २८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १७ औँ अधिवेशन अन्तर्गत आयोजित वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष केशव महतले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष दिपा पाख्रिनले बजेट प्रस्तुत गर्नुभएको हो।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, रोजगार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। सार्वजनिक बजेटअनुसार पूर्वाधार विकास क्षेत्रले सबैभन्दा बढी १७ करोड ३८ लाख रुपैयाँ प्राप्त गरेको छ।
त्यसैगरी आर्थिक विकासतर्फ १ करोड २५ लाख ५० हजार रुपैयाँ, सामाजिक विकासतर्फ ४ करोड ५३ लाख ९८ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५२ लाख रुपैयाँ तथा सुशासन तथा संस्थागत विकासतर्फ १ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ।



गाउँपालिकाका सातवटै वडामा सञ्चालन हुने विकास निर्माण तथा स्थानीय आवश्यकता सम्बोधन गर्ने कार्यक्रमका लागि ५ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ। बजेटले गाउँपालिका भित्रका अधुरा तथा क्रमागत योजनालाई निरन्तरता दिँदै आधारभूत पूर्वाधार विस्तार, सेवा प्रवाह सुधार र आर्थिक गतिविधि वृद्धि गर्ने लक्ष्य लिएको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष महतले स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले दिगो विकास, सुशासन र समृद्ध गाउँ निर्माणलाई केन्द्रमा राखेर आगामी वर्षका कार्यक्रम तय गरिएको बताउनुभयो।