उमाकुण्डको बजेटमा युवादेखि पर्यटनसम्म: ६३ करोडबाट विकासको नयाँ अभियान

  • प्रकाशित मिति: बिहिबार, असार ११ २०८३
  • तामाकोशी

रामेछाप, उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६३ करोड ५१ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै विकासको स्पष्ट खाका अघि सारेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता र सामाजिक समानतालाई प्राथमिकतामा राखिएको बजेटले गाउँपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।
गाउँसभाको २० औँ अधिवेशनमा उपाध्यक्ष सावित्री सुनुवार ले बजेट प्रस्तुत गर्दै गुणस्तरीय सेवा प्रवाहसँगै आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित कार्यक्रमहरू समेटिएको जानकारी दिनुभयो।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार का अनुसार आगामी वर्षको नीति तथा कार्यक्रमले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धन लाई मुख्य प्राथमिकतामा राखेको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने लक्ष्य पनि तय गरिएको छ।
खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा आधुनिक कभर्डहल निर्माण गरिने भएको छ। साथै प्रतिभावान खेलाडीलाई सम्मान गर्ने र युवालाई खेलकुदमा आकर्षित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन्।
शिक्षा क्षेत्रमा भने परम्परागत पढाइभन्दा फरक ढंगले व्यवहारिक तथा जीवनोपयोगी शिक्षा, विद्यार्थी नेतृत्व विकास कार्यक्रम तथा उद्यमशीलता तालिम सञ्चालन गरिनेछ। यसले विद्यार्थीलाई सीपमूलक र स्वरोजगारमुखी बनाउने अपेक्षा गरिएको छ।