रामेछाप । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ जिल्ला कार्यसमिति रामेछापले नयाँ नेतृत्व पाएको छ। सङ्घको १२औँ वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनले सुमन खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनको उद्घाटन समारोहमा सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ र रामेछाप नगरपालिकाका मेयर लव न्यौपाने विशेष अतिथि हुनुहुन्थ्यो । यस्तै, नेपाली काङ्ग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्की, संघका पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की, केन्द्रीय उपाध्यक्ष कुमार कार्की, केन्द्रीय कोषाध्यक्ष गोविन्द गौतम, रामेछाप सांस्कृतिक कलाकार समाजका पूर्व अध्यक्ष रामकुमार पौडेल लगायत कलाकार, पत्रकार तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नविन पुलामी मगर, प्रथम उपाध्यक्षमा राम बस्नेत, द्वितीय उपाध्यक्षमा अनु खड्का, उपाध्यक्षमा सन्दिप श्रेष्ठ, सचिवमा सरिता श्रेष्ठ, सह सचीव विष्णु कुमार सुनाम, प्रबक्ता सुदिप खड्का, कोषाध्यक्ष युवराज कार्की, सह–कोषाध्यक्ष दिक्षा महत चयन भएका छन्। सदस्यहरूमा राम माझि, लक्ष्मी विक, जयप्रकाश प्रधान, टिकारम श्रेष्ठ, बोधकुमारी श्रेष्ठ र कर्ण श्रेष्ठ रहेका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले रामेछापको मौलिक कला, संस्कृति र लोकसङ्गीतको संरक्षण तथा कलाकारहरूको पेशागत हक–हित सुनिश्चित गर्न सङ्घले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे। नवनिर्वाचित अध्यक्ष सुमन खड्काले जिल्लाका अग्रज र युवा कलाकारलाई एउटै मञ्चमा जोड्दै सिर्जनशील गतिविधिलाई थप सशक्त बनाउने, नयाँ प्रतिभालाई अवसर उपलब्ध गराउने तथा सङ्घलाई अझ गतिशील बनाउने प्रतिबद्धता जनाए।