काठमाडौं, जेठ ३० । एएएफसी एसियन कप फुटबल २०१९ को छनौट चरणअन्तर्गत यमनसँगको खेलमा नेपाल बराबरीमा रोकिएको छ । बराबरीपछि समूह ‘एफ’ मा रहेको नेपाल र यमनले अंक बाँडेका छन् । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा मंगलबार भएको खेलमा नेपालले गोल गर्ने केही सुन्दर मौका सिर्जना गरेपनि गोल गर्न भने सकेन र यमनसँग गोलरहित बराबरीमा रोकियो ।
एसियन कप छनौटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल हो । यसअघि गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । समूह ‘एफ’ मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् । पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको यमन मंगलबारको खेलमा नेपालसँग बराबरी गरेपछि दुई खेलबाट चार अंक जोड्न सफल भएको छ । नेपालको भने दुई खेलबाट एक अंक मात्रै भएको छ ।
सन् २०१९ को जनवरी ५ देखि फेब्रुअरी १ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी एसियन कपमा २४ टिमको सहभागिता रहने छ । अहिलेसम्म प्रतियोगिताका लागि १२ टिम यसअघि नै छनौट भएका छन् । नेपाल सहित २४ देश प्रतियोगिताका लागि छनौट हुने थप १२ टिममा पर्नका लागि अहिले प्रतिस्पर्धामा छन् । यो तेस्रो चरणको छनौट प्रतिस्पधा हो । २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘एफ’ मा यमन, फिलिपिन्स र काजकिस्तान छन् । समूह ‘ए’ मा भारत, किर्गिस्तान, म्यानमार र मकाउ, समूह ‘बी’ मा लेबनान, उत्तर कोरिया, मलेसिया र हङकङ, समूह ‘सी’ मा जोर्डन, भियतनाम, अफगानिस्तान र कम्बोडिया, समूह ‘डी’ मा ओमन, प्यालेस्टाइन, माल्दिभ्स र भुटान तथा समूह ‘इ’ मा तुर्किमेनिस्तान, चाइनिज ताइपेइ, बहराइन र सिंगापुर छन् ।
यो चरणमा समूहको शीर्ष दुई स्थानमा रहने टिम एएफसी एसियन कपका लागि छनौट हुनेछन् । अहिलेसम्म युएई, कतार, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, साउदी अरेबिया, अस्ट्रेलिया, उज्वेकिस्तान, इरान, सिरिया, इराक र चीन प्रतियोगिताका लागि छनौट भएका छन् ।
(भिडियो हेर्न तल क्लिक गर्नुहोस् )
