व्यवसायीक क्षमता विकास नगर्ने पत्रकारहरु टिक्दैनन् : पोषण केसी

  • प्रकाशित मिति: शुक्रबार, माघ २८ २०७३
  • तामाकोसी खबर

रामेछाप । २८, माघ ,
न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताएका छन् । उनले न्युनतम पारिश्रमिक नदिने सञ्चार माध्यम र व्यवसायीक क्षमता विकास नगर्ने पत्रकारहरु अब नेपालमा नटिक्ने बताए । नेपा पत्रकार महासंघ रामेछापको समन्वयमा न्युनतम पारिश्रमिक निर्धारण समितिले रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्  ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष किशोर नेपालले नेपालको सञ्चार  र पत्रकार माखेसाङ्लोमा फसेकोले यसबाट तत्काल निस्कन सक्ने अवस्थमा नरहेको बताए । उनले जतिबेलासम्म पहुँचवालाले रजाईगर्ने अवस्थाबाट नेपालको पत्रकारीता बाहिर निस्कन सक्दैन त्यतिबेलासम्म पत्रकार र सञ्चारमाध्यम दुवैसम्मानजनक रुपमा बाँच्न नसक्ने बताए ।
कार्यक्रममा बोल्दै महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले अहिले पनि व्यवहारमा न्युनतम पारिश्रमिक लागु हुन नसकेको बताए । अहिले पनि कतिपय सञ्चारमाध्यम न्युनतम पारिश्रमिक दिनसक्ने अवस्थमा नरहेको उनले बताए । त्यसैले जहाँबाट सकिन्छ त्यहिँबाट न्युनतम पारिश्रमिक लागु गर्नुपर्ने उनले बताए । नेपालमा अहिले स्थापना भएका सञ्चारमाध्यमहरु चल्न सक्ने अवस्था भएको भए पनि त्यसको व्यवस्थापनको पाटो कमजोर हुँदा सञ्चरमाध्यमहरु संकटमा परेको उनले बताए ।
अर्का पूर्वअध्यक्ष धर्मेन्द्र झाले न्युनतम पारिश्रमिक नहुँदासम्म पत्रकार पेसामा असुरक्षित हुने बताए । असुरक्षित पत्रकारबाट प्रेस स्वतन्त्रताको रक्षा नहुने उनले बताए । त्यसैले प्रेस स्वतन्त्रताको रक्षाको लागि पत्रकारलाई न्युनतम पारिश्रमिक दिने तथा सञ्चारमाध्यमलाई बलियो बनाउने तर्फ सबैको ध्यान जानुपर्ने उनले बताए ।
नेपालमा जारी भएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा अझै पनि चुनौति रहेको कार्यक्रममा सहभागिहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष रमेश ढुंगेलेको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रममा स्थानीय पत्रकारहरुले आपूmहरुले न्युनतम पारिश्रमिक पाउन नसकेको गुनासो गरेका थिए ।