रामेछाप। देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको बेला रामेछापमा भने तत्कालका लागि ग्यासको कुनै समस्या नरहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले गरेको अनुगमनका क्रममा जिल्लामा पर्याप्त मात्रामा ग्यासका भरी सिलिन्डर मौज्दात रहेको पाइएको हो।
जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा लक्ष्मण भुजेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रामेछाप, पत्रकार महासङ्घ, उद्योग वाणिज्य कार्यालयको संयुक्त टोलीले सोमबार गरिएको अनुगमनका क्रममा मन्थली बजारका प्रमुख ग्यास विक्रेतासँग गरी ५२१ वटा भरी ग्यास सिलिन्डर मौज्दात रहेको पाइएको छ। अनुगमनका क्रममा डि.आर. स्टोरमा ३०० वटा, तामाकोशी इन्टरप्राइजेजमा १६० वटा, साघुटार इन्टरप्राइजेजमा ५० वटा र न्यु घिमिरेमा ११ वटा ग्यास सिलिन्डर मौज्दात रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
देशका अन्य जिल्लामा ग्यासको अभाव र उपभोक्ताले लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था सिर्जना भइरहेका बेला रामेछापमा भने पर्याप्त मौज्दात रहेकाले तत्काल उपभोक्तालाई ग्यासको समस्या नहुने व्यवसायीहरूले बताएका छन्।
अनुगमन टोलीले ग्यासको मौज्दात, बिक्री वितरणको अवस्था तथा उपभोक्ताले सहज रूपमा ग्यास पाउने–नपाउने विषयमा जानकारी लिएको थियो। अनुगमनका क्रममा रामेछापमा हाल ग्यासको अभाव नरहेको र आपूर्ति व्यवस्था सामान्य रहेको पाइएको नायब सुब्बा भुजेलले जानकारी दिनुभयो।
प्रशासनले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने वा अस्वाभाविक मूल्यमा बिक्री गर्ने कार्य नगर्न व्यवसायीलाई सचेत गराउँदै नियमित रूपमा बजार अनुगमन गर्ने जनाएको छ।