आरणको काम गर्दै आएका दलित समुदायलाई आधुनिक आरणको उपकरण

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १७ २०७५
  • तामाकोसी खबर

रामेछाप, १७ जेष्ठ ।
रामेछाप नगरपालिका भित्र आरणको काम गर्दै आएका दलित समुदायलाई आधुनिक आरणका उपकरणहरु वितरण गरिएको छ । रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापले रामेछाप बजारमा विहिबार उक्त उपकरणहरु हस्तान्तरण गरिएको हो ।
लोप हुन लागेको आरणको पेशालाई संरक्षण गर्ने उदेश्यले आधुनिक आरणको उपकरणहरु वितरण गरिएको संघका अध्यक्ष लेख बहादुर विकले जानकारी दिए । नगरपालिका भित्र आरणको काममा सक्रिय ९ वटा वडाको एक÷एक जना दलित परिवारलाई आधुनिक उपकरणहरु हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एव रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापा मगरले सामानको उचित उपयोग गर्न समेत आग्रह गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अब नगर संमृद्ध तर्फ उन्मुख रहेकोले सबै क्षेत्रका समुदायहरुलाई सहयोग गर्न समेत अपिल गरे ।

उपकरण पाउनेहरुमा गोठगाउका बलबहादुर विक, देउरालीका कित बहादुर विक, साघुटारका दिल बहादुर विक, हिमगंगाका जगत विक, रामपुरका झिल्के विक, ओख्रेनीका निरबहादुर विक, वादीका रविन्द्र विक, ल्याङल्याङका सम्बर बहादुर विक र सुकाजोरका सन्त बहादुर विक रहेका छन् । उपकरण पाउनेहरुको छनौट सम्बन्धित वडाका बडाध्यक्षहरुले गरेका थिए ।



कार्यक्रममा रामेछाप नगरपालिका वडा नं. ८ का वडाध्यक्ष केदार कार्की, पत्रकार युनिक विफा घिसिङ, दलित गैर सरकारी महासंघका अध्यक्ष गम्भिर विक लगाएतले दलितको सवालमा मन्तव्य राखेका थिए ।