युनिक विफा घिसिङ, बैशाख २६– मन्थली ।
रामेछाप जिल्लाको सिमान्तकृत माझी समुदायलाई लक्षित गरी १ करोड २४ लाखको लगानीमा लिफ्ट सिचाई कुलो निर्माण हुने भएको छ । रामेछाप जिल्लाको सुख्खा क्षेत्रमा पर्ने मन्थली नगरपालिका वडा नं. ६ सेलेघाट, वडा नं. ८ जखनीटार, गाइखुरा र खाडादेवी गाउपालिका वडा नं. १ कोथवेका माझी समुदायलाई सिंचाई सुविधा पु¥याउने उद्देश्यले तामाकोसी र सुनकोसी नदिबाट पानी तान्न लागिएको हो ।
सिंचाइका लागि प्रयोग गर्दै आएका खहरे खोलाहरुमा पानीको मुल फुट्न छोडेपछि यि ठाउहरुमा सिंचाइको समस्या हुँदा अधिकांश जमिन बाँझै रहेका छन् ।
१ सय ५० रोपनी क्षेत्रफल खेतियोग्य जमिन रहेको सेलेघाटमा सामुदायिक विकास समाज मन्थलीको १३ लाख ४६ हजार ६ सय ८४ रुपैया र २ लाख ९४ हजार ३५ रुपैया बराबरको स्थानिय श्रमदान गरी १६ लाख ४० हजार ७ सय १९ रुपैयाँमा लिफ्ट सिंचाई कुलो निर्माण हुन लागेको हो ।
त्यसैगरी २ सय ३१ रोपनी क्षेत्रफल खेतीयोग्य जमिन रहेको जखनीटारमा सामुदायिक विकास समाज मन्थलीको २० लाख २७ हजार ७ सय ३५ रुपैयाँ, मन्थली नगरपालिकाको ६ लाख ३५ हजार र ७ लाख ४० हजार ८ सय ५० रुपैयाँ बराबर स्थानीयको श्रमदान गरि ३४ लाख ३ हजार ५ सय ९२ रुपैयाँमा लिफ्ट सिंचाई कुलो निर्माण हुन लागेको जनाएको छ । कोसीबाट ६ इन्चको पाइपमा पानी तानेर कोसीबाट १ सय १५ मिटरको उचाईमा ट्यांकी निर्माण गरि पानी जमाएर सिंचाईमा प्रयोग गरिने प्राविधिक कमल राईले बताए ।
यता गाइखुरामा सामुदायिक विकास समाजको २८ लाख २७ हजार ३ सय ७३, मन्थली नगरपालिकाको ७ लाख ४७ हजार ५१ रुपैयाँ र १६ लाख ४९ हजार ६ सय ७२ रुपैयाँ बराबर स्थानीयको श्रमदान सहित ५२ लाख २४ हजार ९६ रुपैयाँ लागतमा १ सय ३१ रोपनी क्षेत्रफल सिंचाई सिन्चित हुनेछ ।
त्यसैगरीे खाडादेवी कोथवेमा सामुदायिक विकास समाजको १६ लाख ८४ हजार १ सय ३३ रुपैया र ४ लाख ८९ हजार ९ सय ७५ रुपैया बराबरको स्थानियको श्रमदान सहित २१ लाख ७४ हजार १ सय ८ रुपैया लागतमा १ सय २४ रोपनी क्षेत्रफल कोथ्वे लिफ्ट सिंचाई कुलो निर्माण हुने भएको हो ।
बाँझो जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले सामुदायिक विकास समाज मन्थली र मन्थली नगरपालिकाकोे सहकार्यमा लिफ्ट प्रणालीबाट कोशीको पानी तान्न लागिएको सामुदायिक विकास समाज मन्थलीका अध्यक्ष मिलनकुमार घिसिङले बताए ।
खानेपानीको समेत चरम समस्या रहेको त्यस ठाउँहरुमा सिंचाई सुविधा आएपछि ब्यवसायिक तरकारी खेतीबाट आयआर्जमा बृद्धि गर्ने योजना रहेको स्थानीय गणेश माझीले बताए ।
मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले लिफ्ट सिंचाई कुलोको शिलान्याश गर्दै चालू आर्थिक वर्षको अन्तिमसम्म सिंचाई योजना सम्पन्न हुने बताए ।
सिंचाइ योजना निर्माण पश्चात सिमान्तकृत माझी समुदायका करिव २ सय ८४ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।