खेतीयोग्य जग्गाहरु प्लटिङ हुँदा सिन्धुलीमा उत्पादनमा कमी

  • प्रकाशित मिति: मंगलबार, बैशाख ११ २०७५
  • तामाकोसी खबर

सिन्धुली । वैशाख ११ गते,
सिन्धुली केही समययता सिन्धुली जिल्लाको मरिण र कमलाखोंच क्षेत्रका उर्वरा खेतीयोग्य जमिनमा प्लटिङ गरी तीव्रगतिमा घर निर्माण गर्नेक्रम बढेपछि अन्नबाली उत्पादन शून्य हुँदै गएको छ । सिन्धुलीका ७ वटा स्थानीय तहका मुकामस्थल लगायतका मुख्य खेतीयोग्य उर्वर भूमिमा प्लटिङ गरी दिनदिनै पक्की घर निर्माण गर्नेक्रम बढेपछि खेती हुने जमिन मासिँदै गएका हुन् ।
धान, मकैजस्ता अन्नबालीका लागि उर्वर भूमि मानिएको जमिनलाई प्लटिङ गरी घर–घडेरीका लागि प्लटिङ गरी किनबेच गर्दा जमिन बाँझै रहने र खाद्यान्न उत्पादनमा कमी आउन थालेको हो । कमलाखोंच र मरिण क्षेत्रको करिब २०० हेक्टर खेतीयोग्य जग्गामध्ये १०० हेक्टर क्षेत्रफलमा घर, आवासलगायतका भौतिक संरचना बनाइएका छन् भने चक्ला जमिन खन्डीकरण भएका छन् । २० वर्ष अघिसम्म सिन्धुलीमा उत्पादित धान, मकै, गहुँ र दलहनजस्ता खाद्यान्नले सिन्धुली र रामेछापको खाद्यान्न आपूर्ति गर्दथ्यो । तर, खेतीयोग्य जमिन प्लटिङमा परिणत गरिएपछि सिन्धुली आफैंलाई पुग्न धौ–धौ हुने अवस्था सिर्जना भएको छ ।