रामेछाप, प्रेस चौतारी नेपाल, रामेछापले स्थापना गरेको रु. २५ हजार राशिको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा विहिबार मन्थलीमा आयोजित कार्यक्रममा पौडेललाई नगद, दोसल्ला तथा प्रशंसापत्रसहित सम्मान गरिएको हो।
प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेख बहादुर विकका अनुसार समाजसेवी तथा नेता रत्नप्रसाद गौतमले स्थापना गरिदिएको उक्त पुरस्कार यस वर्षदेखि प्रदान गर्न थालिएको हो। पुरस्कार हरेक वर्ष साउन ७ गते पुष्पलाल स्मृति दिवसका अवसरमा प्रदान गरिने तथा यसको छनोट प्रेस चौतारी नेपालको केन्द्रीय समितिले कार्यविधिअनुसार गर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो।
प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेल, बागमती प्रदेशसभा सदस्य आनन्द श्रेष्ठलगायत नेता, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’ विषयमा अन्तरक्रियासमेत आयोजना गरिएको थियो। वक्ताहरूले नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गर्न पुष्पलाल श्रेष्ठले खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै उहाँले देखाएको सिद्धान्त, विचार र मार्गदर्शनलाई आत्मसात् गर्न सक्ने व्यक्ति नै सच्चा कम्युनिष्ट हुन सक्ने धारणा व्यक्त गरेका थिए।