काठमाडौं– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेन आमनेसामने हुने तयारी भइरहेका बेला क्लब फुटबलसँग सम्बन्धित एउटा रोचक तथ्य सार्वजनिक भएको छ। स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले फाइनलमा सर्वाधिक नौ खेलाडीको प्रतिनिधित्व गराउँदै नयाँ इतिहास रचेको छ।
डिएगो सिमियोनेको प्रशिक्षणमा रहेको एट्लेटिको म्याड्रिडबाट अर्जेन्टिना र स्पेन दुवै टोलीमा गरी नौ खेलाडी फाइनलमा मैदान उत्रनेछन्। यससँगै एट्लेटिकोले आठ खेलाडी प्रतिनिधित्व गराउने बार्सिलोनालाई एक खेलाडीले पछि पारेको छ।
अर्जेन्टिनाको टोलीमा एट्लेटिकोका जुआन मुस्सो, नाहुएल मोलिना, जुलियानो सिमियोने, थियागो अल्माडा र जुलियन आल्भारेज रहेका छन्। सुरुआतमा टोलीमा रहेका निकोलास गोन्जालेज भने प्रतियोगिताकै क्रममा लोन सम्झौता सकिएपछि युभेन्टस फर्किएकाले एट्लेटिकोका प्रतिनिधिको सूचीमा समावेश भएका छैनन्।
स्पेनको टोलीमा एट्लेटिकोका मार्कोस योरेन्ते, मार्क पुबिल, आलेक्स बाएना र आलेहान्द्रो ग्रिमाल्दो फाइनल खेल्नेछन्। ग्रिमाल्दो भने विश्वकप चलिरहेकै समयमा आधिकारिक रूपमा एट्लेटिको म्याड्रिडमा आबद्ध भएका हुन्।
यता बार्सिलोनाबाट स्पेनको टोलीमा जोआन गार्सिया, पाउ कुबार्सी, एरिक गार्सिया, गाभी, लामिन यामाल, डानी ओल्मो, पेड्री र फेरान टोरेस फाइनलमा सहभागी हुनेछन्।
विश्वकप फाइनलमा एउटै क्लबबाट नौ खेलाडीको प्रतिनिधित्व हुनु एट्लेटिको म्याड्रिडका लागि ऐतिहासिक उपलब्धि बनेको छ। यो संख्या विश्वकप फाइनलमा एउटै क्लबबाट सर्वाधिक खेलाडी सहभागी गराउने कीर्तिमानसँग बराबरी हो। यसअघि सन् १९३४ को विश्वकप फाइनलमा युभेन्टस र सन् १९५० को विश्वकप फाइनलमा पेञारोलले समान नौ–नौ खेलाडी फाइनलमा उतारेका थिए।