काठमाडौं, रामेछाप सम्पर्क समिति, दक्षिण कोरिया–नेपाल (RCCSN) को प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संस्थालाई थप सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनबाट पुरुषोत्तम गौतम अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी नरबहादुर तामाङ र विदुर खड्का उपाध्यक्ष, पुष्कर प्रसाद घिमिरे महासचिव, पवित्रा भण्डारी सचिव तथा मेघराज खड्का कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। यस्तै, सदस्यहरूमा कृष्ण गौतम, नवराज अधिकारी, राजन प्रसाद प्रसाईं र सुजन श्रेष्ठ लगायत चयन हुनुभएको छ।
नवनिर्मित महासचिव पुष्कर प्रसाद घिमिरेका अनुसार कार्यक्रमको उद्घाटन समारोह रामेछापका संघीय सांसद कृष्णहरी बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी तथा दक्षिण कोरियामा रहेका रामेछापवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम गौतमले सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै संस्थालाई सबै रामेछापवासीको साझा चौतारीका रूपमा विकास गर्ने, प्रवासी नेपालीबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।