दोलखामा “मिस एसईई सुपर मोडल २०२६”; दिपिसा बने विजेता

  • प्रकाशित मिति: बिहिबार, असार ४ २०८३
  • तामाकोशी

चरिकोट । दोलखामा आयोजित ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२६’ को भव्य फाइनल कार्यक्रम सम्पन्न भएको छ। एभरेष्ट इभेन्ट्सको प्रस्तुति तथा एस क्युब डान्स स्टुडियो र ग्रेस इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगितामा रोशन रसाइलीले ‘मिस्टर एसईई सुपर मोडल २०२६ दोलखा’ को उपाधि जित्न सफल भए भने दिपिसा लामा तामाङ ‘मिस एसईई सुपर मोडल २०२६ दोलखा’ घोषित भइन्। त्यसैगरी अजय महत र मुस्कान श्रेष्ठ ‘फेस अफ एसईई सुपर मोडल २०२६’ बनेका छन्।
युवराज थापा र कुसुम थपलिया पहिलो रनरअप घोषित हुँदा श्याम सुनुवार र जेनिशा तामाङ दोस्रो रनरअप बन्न सफल भए। आञ्जिला बस्नेतलाई ब्रान्ड एम्बासडर, सुरक्षा श्रेष्ठलाई अर्गनाइजर च्वाइस अवार्ड तथा खुसी न्यौपानेलाई ‘ब्युटी विथ ब्रेन’ उपाधिबाट सम्मानित गरिएको थियो।
आयोजकका अनुसार प्रतियोगिताका दुवै विजेताले जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछन्। प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धीलाई विभिन्न विषयमा अध्ययनका लागि २० वटा कलेजबाट छात्रवृत्ति प्राप्त गर्ने अवसर उपलब्ध गराइने जनाइएको छ। विजेताहरूलाई एभरेष्ट फिल्म एकेडेमीमा एक लाख रुपैयाँ बराबरको छात्रवृत्तिसमेत प्रदान गरिनेछ।
प्रतियोगितामार्फत सहभागी युवायुवतीलाई विज्ञापन, म्युजिक भिडियो, सर्ट मुभी, पत्रपत्रिका, म्यागजिन तथा विभिन्न मनोरञ्जनसम्बन्धी परियोजनामा आबद्ध हुने अवसरसमेत प्रदान गरिने आयोजकको भनाइ छ।
युवा प्रतिभालाई पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमले दोलखाका युवायुवतीमा आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनशीलता विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले विश्वास व्यक्त गरेको छ।