रामेछाप । रामेछापको मन्थली स्थित लिट्टिल स्टार इङ्ग्लिस स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट परीक्षामा सहभागी सबै २० जना विद्यार्थी उत्कृष्ट जीपिए सहित ग्रेडेड भएका छन् ।
विद्यालयका प्रिन्सिपल रमेश फुयाल का अनुसार सहभागीमध्ये पाँच जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । यो संख्या कुल सहभागीको २५ प्रतिशत हो ।
तीन दशकअघि स्थापना भएको विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । विद्यालयले हरेक वर्ष एसइईमा राम्रो नतिजा हासिल गर्दै आएको जनाएको छ ।
प्रिन्सिपल फुयालले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई दिँदै विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राखेर शिक्षण गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।
विद्यालयबाट एसएलसी तथा एसइई परीक्षा दिने १९औँ ब्याचसम्म आइपुग्दा निरन्तर राम्रो नतिजाले विद्यालय परिवार उत्साहित बनेको उहाँको भनाइ छ । विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।