रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म चालु खर्च ५९ दशमलव ९६ प्रतिशत तथा पूँजीगत खर्च २१ दशमलव ०७ प्रतिशत मात्रै गरेको जनाएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिमा सञ्चालन भएका विकास निर्माणका कार्यक्रम तथा सेवा प्रवाहको प्रगति अवस्थाबारे आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त जानकारी दिएको हो । कार्यक्रम बुधबार मन्थली नगरपालिका–८ चिसापानीमा सम्पन्न भएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले ठेक्कामार्फत सञ्चालन भएका योजनाको भुक्तानी प्रक्रियामा रहेकाले पूँजीगत खर्च अपेक्षाकृत कम देखिएको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षका लागि स्वीकृत कुल एक अर्ब चार करोड ६५ लाख ६४ हजार रुपैयाँ बजेटमध्ये चैत मसान्तसम्म ४९ करोड २६ लाख ५३ हजार २९९ रुपैयाँ खर्च भएको छ ।
नगरपालिकाबाट सञ्चालन हुने कुल ६०० योजनामध्ये ५४४ वटा योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भइरहेका छन् । तीमध्ये ३९८ वटा योजनाको सम्झौता सम्पन्न भएको छ, जुन कुल योजनाको ६७ प्रतिशत हो ।
त्यसैगरी, १८७ वटा योजनाको भुक्तानी सम्पन्न भएको र १२ वटा योजनाको भुक्तानी प्रक्रियामा रहेको जानकारी दिइएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकले उठाएका जिज्ञासा तथा प्रश्नको जवाफ नगरप्रमुख लव श्रेष्ठले दिनुभएको थियो ।
कार्यक्रम मन्थली नगरपालिकाको आयोजना तथा प्रहार मिडियाको सहजीकरणमा सम्पन्न भएको थियो ।