काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले एमालेको लक्ष्य समृद्ध र सबल राष्ट्र निर्माण गर्नु रहेको बताउनुभएको छ।
शनिबार कोटेश्वरमा एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीले आयोजना गरेको उपत्यकास्तरीय वृहत् चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पार्टीको मूल नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको उल्लेख गर्नुभयो। देश निर्माणमा प्रतिबद्ध शक्तिलाई कमजोर बनाएर मुलुक अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो। आगामी निर्वाचन देश बनाउने र देश बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा भएको बताउँदै उहाँले सूर्य चिन्हमा मतदान गर्न मतदातालाई आह्वान गर्नुभयो।
ढुंगेलले एमालेबाहेक अन्य दलले ठोस विकासका काम गर्न नसकेको दाबी गर्नुभयो। रामेछापमा एमालेबाहेक कसैले उल्लेखनीय विकास गरेको प्रमाणित गर्न सके पार्टीको झण्डा फालिदिने चुनौतीसमेत दिनुभयो। एमालेले गरेका विकासका आधारमा आलोचना गर्नेहरूलाई जनताले उचित जवाफ दिनुपर्ने उहाँको धारणा थियो।
उहाँले एमालेको झण्डा जलाउने तथा सिंहदरबार, सर्वोच्च अदालत र संसद भवन जस्ता महत्वपूर्ण संरचनामा आगजनी गर्नेहरू नै आफूलाई ‘नयाँ शक्ति’ भन्दै हिँडेको आरोप लगाउनुभयो। यस्ता गतिविधि गर्ने शक्तिलाई नेपाली जनताले अस्वीकार गर्ने उहाँको भनाइ थियो। ‘पुलिसको पोसाक खोस्ने र भाटभटेनीबाट रक्सी चोर्ने कार्यलाई नयाँ राजनीति भन्न मिल्छ ?’ भन्दै उहाँले प्रश्न उठाउनुभयो।
एमाले सत्तामा आए देश बनाउँछ भन्ने डरले केही समूहले विगतमा देशमा अस्थिरता र हिंसा फैलाएको उल्लेख गर्दै उहाँले ती घटनाहरूलाई नबिर्सन आग्रह गर्नुभयो। ‘सिंहदरबार, सर्वोच्च अदालत र संसद भवनमा भएका आगजनीका घटना हामीले बिर्सिएका छैनौँ। प्रहरीको पोसाक र हतियार खोसिएका घटनासमेत सम्झिरहेका छौँ। देश जलाउने होइन, बनाउने शक्तिलाई साथ दिनुपर्छ,’ उहाँले भन्नुभयो।