रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज (शुक्रबार) रामेछापको मन्थली आउँदै छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका झापा–५ का उम्मेदवार शाह पछिल्लो समय देश दौडाहामा रहेका छन् ।
बिहीबार कोसी प्रदेशको ओखलढुङ्गामा पुगेर पार्टीका कार्यकर्तासँग भेटघाट गरेका शाह आज मन्थली आउने कार्यक्रम तय भएको रास्वपा रामेछापका उपसभापति मोहन कार्कीले जानकारी दिए । उनका अनुसार जिल्लामा आज कुनै ठूला वा औपचारिक कार्यक्रम तय नभए पनि वरिष्ठ नेता शाह बाटो परेकाले मन्थलीस्थित पार्टीको जिल्ला कार्यालयमा पुग्नेछन् ।
कार्कीका अनुसार यसअघि फागुन १५ गते पार्टीले आयोजना गरेको सभामा शाह आउने कार्यक्रम थियो । तर हिजो एक्कासी फोन आएपछि काठमाडौँमा आजका कार्यक्रमको तयारीमा रहेका पार्टीका पदाधिकारीहरू समेत रातारात मन्थली फर्किएका छन् ।
वरिष्ठ नेता शाहको मन्थली आगमनको खबरपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । मन्थली बजार क्षेत्रसहित संवेदनशील स्थानहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालन गरिएको छ । बालेन शाहको आगमनलाई लिएर मन्थली बजारमा राजनीतिक चहलपहल बढेको छ ।