रामेछाप । नेपाली काँग्रेस रामेछापले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै व्यापक संगठनात्मक तयारी थालेको छ । पार्टीले उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउने उद्देश्यसहित २३ वटा निर्वाचन केन्द्रित समिति गठन गरेको छ ।
पार्टीका सचिव विनोद कार्कीका अनुसार पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) को नेतृत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको हो । पूर्व पार्टी सभापति समेत रहेका खड्कालाई विजयी गराउन यो समितिले निर्णायक निर्देशन दिने, चुनावी रणनीति तय गर्ने तथा पार्टीका सबै तहका संघ–संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्नेछ ।
कार्यवाहक सभापति नवराज थोकरको सभापतित्वमा बसेको पछिल्लो बैठकले निर्वाचनलाई सशक्त बनाउने लक्ष्यसहित पार्टी सभापति देखि जेन्जी युवासम्मलाई जिम्मेवारी दिँदै २२ वटा विषयगत समिति गठन गर्ने निर्णय गरेको सचिव कार्कीले बताए । सभापति तामाङ संयोजक रहेको निर्वाचन परिचालन समितिमा पूर्व सभापति तथा रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपाने र उपसभापति लेखबहादुर कार्की सह–संयोजक रहेका छन् ।
समितिमा बागमती प्रदेश कार्यसमितिबाट रामेछाप प्रतिनिधित्व गर्ने महासमिति सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व पदाधिकारी, प्रदेश सभा क्षेत्रीय सभापति (क र ख), ८ वटै पालिकाका सभापति, ६४ वटै वडा सभापति तथा भातृ र शुभेच्छुक संस्थाका केन्द्रीय एवं जिल्ला तहका पदाधिकारी सदस्य रहेका छन् ।
त्यसै गरी दुई नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापका सबै ८ वटै पालिकामा संयोजक तोकिएको छ । मन्थली नगरपालिकामा महाधिवेशन प्रतिनिधि युवराज भट्टराई, रामेछाप नगरपालिकामा पूर्व नगरप्रमुख नरबहादुर थापामगर, लिखु तामाकोसीमा प्रमुख सल्लाहकार कृष्णबहादुर महत, गोकुलगंगामा नेता नानीबाबु बस्नेत, उमाकुण्डमा गेल्जे लामा (शेर्पा), खाँडादेवीमा रत्नहरि ढुङ्गेल, सुनापतिमा केशवप्रसाद चालिसे र दोरम्बा शैलुङमा दीपक लामा संयोजक नियुक्त भएका छन् ।
केन्द्रीय परिपत्रअनुसार निर्वाचनलाई थप प्रभावकारी बनाउन निर्वाचन सचिवालय संयोजकको जिम्मेवारी पार्टी सचिव विनोद कार्कीलाई दिइएको छ भने सीताराम कार्की सह–संयोजक रहेका छन् । प्रचार–प्रसार समितिको संयोजकमा पत्रकार हिमाल ढुङ्गेल, स्थानीय तह परिचालन समितिमा केशव महत, बौद्धिक क्षेत्र समन्वय समितिमा डा. सुमन कर्माचार्य, सामाजिक संघसंस्था परिचालन समितिमा योगेन्द्र श्रेष्ठ, धार्मिक संघसंस्था परिचालन समितिमा रामचन्द्र अधिकारी र निजी क्षेत्र समन्वय समितिमा प्रकाश श्रेष्ठ तोकिएका छन् ।
युवा तथा जेन्जी मतदातालाई लक्षित गर्दै १८ देखि ३० वर्ष उमेर समूहका लागि विशेष अभियान परिचालन समितिको संयोजक सञ्जय बुढाथोकीलाई जिम्मेवारी दिइएको छ ।
सह–संयोजकमा अविनाश कार्की र राजेश भण्डारी रहेका छन् । अनुगमन समितिमा प्रवक्ता कुमार श्रेष्ठ, भूतपूर्व सैनिक परिचालन समितिमा केशवप्रसाद घिमिरे, ट्रेड युनियन काँग्रेस परिचालन समितिमा नवराज घिमिरे, भूतपूर्व प्रहरी परिचालन समितिमा ढाकल थापा, निर्माण व्यवसायी परिचालन समितिमा उत्तम कार्की, कानुनी सहायता समितिमा यादवप्रसाद दाहाल र महिला स्वास्थ्य स्वयंसेविका परिचालन समितिमा अम्बिका हायु संयोजक तोकिएका छन् ।
काँग्रेस रामेछापले अघिल्लो निर्वाचन जस्तै यस पटक पनि पार्टीको जित सुनिश्चित हुने दाबी गर्दै मतदाता भेटघाटलाई तीव्र बनाएको छ । पुरानो सदरमुकाम रामेछाप बजारबाट घरदैलो अभियान सुरु गरेका उम्मेदवार रामचन्द्र खड्काको टोली हाल खाँडादेवी, सुनापति र दोरम्बा शैलुङका विभिन्न वडा तथा टोलमा मतदाता भेटघाटमा व्यस्त रहेको छ ।