रामेछापमा प्रतिनिधिसभा निर्वाचनका लागि १७ जनाको उम्मेदवारी दर्ता

  • प्रकाशित मिति: मंगलबार, माघ ६ २०८२
  • तामाकोशी

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापमा स्वतन्त्र ३ सहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट केसरी श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोरे तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कृष्णहरि बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसै गरी नेकपा (एमाले) बाट माधवप्रसाद ढुङेल, राष्ट्रिय जनमोर्चाबाट अर्जुनबहादुर थापा मगर, श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङी मगर तथा नेपाली काँग्रेसबाट रामचन्द्र खड्काले मनोनयन दर्ता गराएका छन् ।
नेशनल रिपब्लिक पार्टीबाट यमबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीबाट दीपबहादुर योन्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वीरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।



यस्तै आम जनता पार्टीबाट पदम बहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसन विनोद घिसिङ, ने क.पा. माओवादीबाट यमुन बहादुर बस्नेतले मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा अरुण कार्की, बाबुकाजी खड्का र सन्तोष घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । रामेछापमा सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जानकारी दिए । निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी माहौल थप तातेको छ ।