रामेछाप । यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोकलाई प्रदान गरिएको छ । गत वर्षका लागि सोही पुरस्कार साहित्यकार मिना चौलागाईलाई प्रदान गरिएको छ ।
शनिवार मन्थलीमा सम्पन्न ११औँ जगदीश घिमिरे स्मृति साहित्यिक सभा, वक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण समारोहमा साहित्यकार आलोक र चौलागाईलाई ५१/५१ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको हो ।
गत वर्ष प्रतिष्ठानले पुरस्कार घोषणा गर्न नसकेकाले यस वर्ष दुवै साहित्यकारलाई एकै समारोहमा सम्मान गरिएको जगदीश घिमिरे प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले साहित्य र पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने साहित्यकार तथा पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार वितरण गर्दै आएको छ। यसअघि यो पुरस्कार मनु ब्राजाकी, रोचक घिमिरे लगायतका साहित्यकारले प्राप्त गरिसकेका छन्।
प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा विद्यार्थीहरूबिच वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो। नयाँ पुस्तामा साहित्य र अभिव्यक्ति कलाप्रति रुचि बढाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा रामेछापसहित देशभरबाट साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। वरिष्ठ साहित्यकार जगदीश घिमिरेले आफैँ जीवित रहँदै स्थापना गरेको प्रतिष्ठानले साहित्यिक अभियानलाई निरन्तरता दिँदै आएको छ।
मल्टिपल माइलोमा क्यान्सरबाट पीडित भएपछि घिमिरेले २०६३ सालदेखि हरेक वर्ष हिउँदमा मन्थलीमा साहित्य सम्मेलन आयोजना गर्दै राष्ट्रिय तथा स्थानीय साहित्यकारलाई एकै मञ्चमा जोड्ने कार्य गर्दै आएका थिए। उनको कृति अन्तर्मनको यात्राले वि.सं. २०६४ सालको मदन पुरस्कार पाएको थियो । घिमिरेले मैनाली कथा पुरस्कार पनि पाएका थिए । यस्तै उनको अन्तर्मनको यात्राले उत्तम शान्ति पुरस्कार पनि पाएको छ ।
२००२ चैत्र २८ गते रामेछापको मन्थलीमा जन्मिएका घिमिरेको क्यान्सरकै कारण २०७० साल कात्तिक १४ गते ६८ वर्षको उमेरमा काठमाडौँस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।